Thursday, May 7News That Matters

कोरोनाले उदयपुरका एक शिक्षकको मृत्यु, घर र वरपरकाे क्षेत्रमा डिडडुल बन्द गरियाे

पूर्णपुष्टि, भदौ १२ ।

उपचारको क्रममा चारदिनअघि मृत्यु भएको उदयपुरको एक शिक्षकलाई कोरोना लागेको पुष्टि भएको छ । त्रियुगा नगरपालिका ४ घर भएका र सोही नगरपालिकाको वडा नं. ७ कौवाई प्राथमिक विद्यालयमा दरबन्दी रहेको ५२ वर्षिय शिक्षकमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएसंगै उनी उदयपुरको पहिलो कोरोनाका कारण मृत्यु हुने ब्यक्तीमा परेका छन् । जिल्लामा कोरोनाले मृत्यु हुने पहिलो घटना भएकाले सर्बसाधारण त्रसित बनेका छन् ।

लकडाउनका कारण विद्यालयको पठन पाठन बन्द रहेकाले घरमै बसिरहेका उनी एक्कासी ज्वारो आउने भई विरामी परेपछि उपचारको क्रममा काठमाडौं त्रिवी हस्पताल लगिएको जनाइएको छ । त्यहाँ उपचारको क्रममा चारदिन अघि उनको मृत्यु भएको थियो । उपचारसंगै कोरोना परिक्षण गरिएकोमा मृत्यु भइसकेपछि आएको रिपोर्ट पोजेटिभ रहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

उनलाई कहाँ र कहिले संक्रमण भयो भन्ने बारे थाहा भएको छैन । उनको पोजेटिभ रिपोर्ट खबर आएपछि मिलनचौक गाउँस्थित उनको घर र आसपासका क्षेत्रलाई सतर्क गराई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयो । काठमाडौं जानुअघि मोतिगडास्थित राजेश मेडिकल हेल्थ केयर सेन्टर प्रा.लि.मा तीनदिन उपचारका लागि राखिएकाले उक्त स्वास्थ्य संस्था पनि बन्द गरिएको छ । त्यहाँबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

उक्त स्वास्थ्य संस्था स्वयम्ले पनि विज्ञप्ती जारी गरी त्यहाँबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द भएको जनाएको छ । साथै त्यहाँबाट केहीदिन यता सेवा लिएका सर्बसाधारणलाई पनि स्वास्थ्य परिक्षण गराउन र होम क्वारेन्टाइनमा बस्न आव्हान गरेको छ ।

शिक्षकको परिवारका सदस्यहरु र उनको सम्पर्कमा रहेकाहरुको कन्ट्राक ट्रेसिङ गरी स्वाव नमुना परिक्षण गरिने स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

मृतक शिक्षकको घर र आसपासमा आवातजावत बन्द गराउन वडालाई प्रशासनले निर्देशन गरेको छ । वडाको आव्हानलाई अवज्ञा भएमा प्रशासनले औपचारिकरुपले नै शिल गर्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।