Monday, June 22News That Matters

कोरोना कहरबीच खोटाङको हलेसी मन्दिरमा रामनवमी मेला भर्नेहरुको घुइँचो

पूर्णपुष्टि,वैशाख ८

कोरोना कहरबीच खोटाङको हलेसी मन्दिरमा रामनवमी मेला भर्नेहरुको घुइँचो लागेको छ । विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसी मन्दिर हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल स्थलमा रामनवमीको अवसर पारेर १५ दिन मेला लाग्ने गरेको छ । हलेसीमा कोरोनाको कहरबीच पनि पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ ।

विश्वभर कोरोना भाईरसको दास्रो लहर सुरु भएको छ तर हलेसीमा लागेको मेलामा बिना स्वास्थ्य मापदण्ड भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड लागेको छ । हप्ता दिनअघि शुरु भएको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका राष्ट्रबाट आएका हजारौँ दर्शनार्थीको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिनुभयो ।

त्रिधार्मिकधाम हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको मन्दिर कोरोना कहरकै कारण २०७६ चैत ८ गतेदेखि बन्द गरिएको थियो । हलेसी मन्दिर खुला गरिएसँगै यस वर्ष दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको स्थानीय बासिन्दाहरुको भनाईरहेको छ । धार्मिकरूपमा मात्र नभई प्राकृतिकरूपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसी मन्दिर आसपासका होटल तथा रेष्टुरेन्टहरु रामनवमी मेला भर्न आएका दर्शनार्थी तथा भक्तजनले भरिभराउ भएका छन् ।

पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसीक्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहने गरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसीक्यामेरा जडान गरिएको हो ।