
पूर्णपुष्टि, असार ११
कोरोना परिक्षणमा धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशाला शत प्रतिशत सही र विश्वसनीय रहेको प्रमाणित भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको छड्के जाँच अर्थात् क्रश भेरिफिकेशनमा धनगढीमा रहेको सेती प्रादेशिक प्रयोगशाला शत प्रतिशत सही र विश्वास योग्य रहेको पुष्टि भएको हो ।
प्रयोगशालाबाट कोरोना परीक्षणपछि आएका पाँच जना पोजेटिभ र पाँच जना नेगेटिभ रिपोर्टको नमुना क्रस भेरिफिकेशनका लागि काठमाण्डौ पठाइएको थियो । काठमाण्डौमा रहेको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि धनगढी प्रयोगशालामा देखाएअनुसारकै रिपोर्ट देखाएको छ ।
धनगढीमा पोजेटिभ देखाएका पाँच जनाको काठमाडौमा पनि पोजेटिभ र धनगढीमा नेगेटिभ रिपोर्ट आएकाको काठमाडौमा पनि नेगेटिभ रिपोर्ट आएको प्रयोगशालाले जनाएको छ ।
संघीय सरकारले आरडीटी–पीसीआर मेसिन पठाएपछि चैत २९ गतेदेखि धनगढीमा कोरोना परीक्षण सुरु भएको थियो । अहिलेसम्म धनगढी प्रयोगशालामार्फत ८ हजार तीन सय जनाको कोरोना परीक्षण भएको छ ।
