Sunday, June 21News That Matters

कोरोना संक्रमणबाट श्रीमानको मृत्यु, श्रीमतीले गरिन् आत्महत्या

पूर्णपुष्टि, जेष्ठ १६

कोराना संक्रमणबाट श्रीमानको मृत्यु पश्चात अस्पतालमा कुरुवा बसेकी एक महिलाले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको वडाध्यक्ष खगेन्द्र रावतले बताए ।

वडाध्यक्ष रावतकाअनुसार ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृत्यु लगत्तै अस्पतालबाट भागेकी रावत आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।

मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।