
पूर्णपुष्टि, जेष्ठ १६
विराटनगरमा कोरोना संक्रमित एक गर्भवती महिलाले बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड्स अस्पतालमा संक्रमि महिलाले शनिबार सुरक्षित साथ नर्मल डेलिभरीबाट बच्चालाई जन्म लिएकी हुन् ।
एक्कासी पेट दुखेपछि महिलाको कोरोना रिपोर्ट समेत पोजेटिभ आएपछि विराटनगरको मोरङ सहकारी अस्पताल लगिएको थियो । तर महिला कोरोना संक्रमित भएकै कारण त्यहाँ उनको भर्ना लिइएन । त्यसलगत्तै नजिकै रहेको मदर एण्ड चाइल्ड्स अस्पताल लगिएको श्रीमान् पंकज कर्णले बताए ।
मदर एउण्ड चाइल्ड्स अस्पतालमा कोरोना संक्रमित गर्भवती महिला आएसँगै अस्पताल प्रशासनले तदारुकताका साथ उपचारमा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक रहेको कर्णले बताए ।
३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु छोरी र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ । कोरोनाको कहरको बीचमा मदर एण्ड चाइल्ड अस्पतालका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा.सुभद्रा अग्रवालको नेतृत्वमा नर्मल डेलिभरि मार्फत बच्चा जनमाइएको अस्पतालका प्रशासनले जनाएको छ ।
अस्पतालकाअनुसार कोरोना भाइरस संक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरिएको छ । न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड्स अस्पतालका कार्यकारी निर्देशक अनिसा विष्टकाअनुसार नेपालको संविधानमा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि हक हुनेछ भनि ब्यवस्था गरिएको छ । साथै महामारीको बेला प्रजनन स्वास्थ्य अति आवश्यक सेवाको रुपमा रहेकोले योसँग सम्बन्धित सम्पूर्ण सेवामा कुनै पनि अवरोध नआउने उनले बताइन् ।
