
पूर्णपुष्टि, चैत ३०
विराटनगरको कोशी अस्पतालले जटिल प्रकृतिको न्यूरो सफल शल्यक्रिया गरेको छ ।
न्यूरो सर्जरी सेवा शुरु गरेको दुई महिनापछि कोशी अस्पतालका चिकित्सकको टोलीले जटिल किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् । अस्पतालका न्यूरो सर्जन डा. रोशन खतिवडाको टोलीले रंगेली नगरपालिका–२ का १८ वर्षीय रघुवीर मुडियारीको टाउकोमा पलाएको ट्युमरको सफल शल्यक्रिया गरेको अस्प्तालले जनाएको छ ।
मुडियारीको टाउकोबाट २ किलो ट्युमर निकालिएको जनाएको छ । गत चैत २२ गते अस्पताल भर्ना भएका उनको भोलिपल्ट शल्यक्रिया गरिएको थियो । मुडियारीको अवस्था सामान्य बन्दै गएकाले केही दिनभित्र डिस्चार्ज गर्ने तयारी रहेको जनाएको छ ।
मुडियारीमा वंशागुणत रोग ‘न्यूरो फाइवो म्याटोसिस टाइप १’ लागेको थियो । यस्तो रोग लाग्दा नशाको ट्युमर बढ्ने जनाईएको छ । मुडियारीको भने टाउकोमा रहेको ट्यमुर अनियन्त्रित रुपमा बढेको थियो ।
मुडियारीको टाउकोको ट्युमर छोप्न सधैं टोली लगाएर स्कुल जाने गरेको जनाइएको छ । शल्यक्रिया सफल भएपछि नयाँ जीवन पाएको महशुस गरेको छ ।
