Friday, April 17News That Matters

कोशी प्रदेशकै लामो मोटरेबल पक्की पुल समयावधिभन्दा एक वर्षअघि नै सम्पन्न, भौतिक तथा स्वास्थ्य मन्त्री राईले गरे उद्घाटन

पूर्णपुष्टि÷गाईघाट, मङ्सिर ७ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–१ बीचको बुवाखोलामा नवनिर्मित कोशी प्रदेशकै लामो मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ ।

शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले रिवन काटेर उद्घाटन गरेसँगै १४८.०४ मिटर लम्बाइको मोटरेबल पक्की पुल सञ्चालनमा आएको हो । २०८१ वैशाख ३० गते सम्झौता गरेको जय बागेश्वरी चुरिया रेग्मी जे.बी. गाईघाट निर्माण कम्पनीले समयावधि भन्दा एक वर्ष अगाडि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको हो ।कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको यो पुल हालसम्म कोशी प्रदेशमा बनेको सबैभन्दा लामो पक्की पुल हो । करिब १७ करोड ५८ लाख ६९ हजार रुपैयाँ लागतमा बनेको पुल सञ्चालनमा आएपछि खोटाङको दक्षिणी क्षेत्र र भोजपुरका हजारौँ बासिन्दा सहज र सुरक्षित रूपमा तराईसँग जोडिएका छन् ।

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालले निर्माण कम्पनीले समयमै काम नसकाउने गुनासो बीच यस निर्माण कम्पनीले उदाहरणीय रूपमा तोकिएको अवधिभन्दा एक बर्ष अघि नै काम सम्पन्न गरेर हस्ताण्तरण गरेको बताएका छन् । उनका अनुसार दुई वर्षको समयावधि तोकिए पनि कम्पनीले पुल २०८३ कात्तिक २१ गतेभन्दाअगावै निर्माण पूरा गरी हस्तान्तरण गरेको हो । ४ स्पान, ८.४० मिटर चौडाई र १.२० मिटर फुटपाथको चौडाई भएको यो पुलको २०८१ साल मंसिर ६ गते शिलान्यास भएको थियो ।स्थानीयका अनुसार पुल सञ्चालनमा आएपछि बुवाखोला तर्ने जोखिम हटेको छ । उदयपुरको बेलटार हुँदै गाइघाट, धरान, इटहरी, विराटनगर लगायतका ठाँउमा पुग्ने दूरी पनि उल्लेखनीय रूपमा घटेको छ । जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङ्का स्थानीय हरिबहादुर बस्नेतले बंशिलाघाटमा बन्ने अर्को पक्की पुलसमेत सञ्चालनमा आएपछि दक्षिणी खोटाङको यातायात प्रणाली झनै प्रभावकारी हुने बताए । वर्षायामको जोखिम हटेसँगै बजार आपूर्ति, सेवा–सुविधा र दैनिक आवतजावत सहज बनेको स्थानीयको भनाइ छ ।

पुल सञ्चालनसँगै किसान, व्यापारी, विद्यार्थी र बिरामी सबैका लागि यात्रा छोटो र सुरक्षित भएको छ । कृषि उत्पादन छिटो तराईका बजारमा पुर्याउन सकिने र आपतकालीन अवस्थामा धरान वा विराटनगरका अस्पताल पुग्न सहज हुने स्थानीयको विश्वास छ ।