
पूर्णपुष्टि, असोज १४ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान गरेको छ । विशेषगरी कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत चेतावनी दिइएको छ । त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार यो वर्षाको प्रभाव बुधबारदेखि शनिबारसम्म रहने अनुमान छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु मिसिएको कारण यस्तो मौसमी अवस्था सिर्जना भएको विभागले जनाएको छ । यसअघि असोज ११ र १२ गते भएको भारी वर्षाले ठूलो जनधनको क्षति गराएको स्मरण गराउँदै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मंगलबार अपराह्नदेखि नै कोशी प्रदेश लगायत पूर्वी भूभागमा बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना रहेको छ। तर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वर्षाको खासै सम्भावना नरहेको विज्ञहरूले बताएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई सम्भावित जोखिमप्रति सचेत रहन र आवश्यक तयारी गर्न विभागले सुझाव दिएको छ । साथै, नागरिकहरूलाई पनि मौसमी सतर्कता अपनाउन र आवश्यक सावधानी बरत्न आग्रह गरिएको छ ।
