
उदयपुर, पुस १५ गते ।
उदयपुरका खडेरी पिडितलाई पालिकाले राहत वितरण गरेको छ । रौतामाई गाउँपालिका–३ का २ सय ५५ घर खडेरी पिडितलाई पालिकाले राहत वितरण गरेको हो ।
लामो समयसम्म लगोको खडेरीले बारीमा खाद्यबाली लगाउन नपाएका दुई सय ५५ घर परिवारलाई पालिकाले करिब आठ लाख बराबरको चामल, दाल, तेल, नुन, चिनी, मसला लगायतका खाद्य वस्तु वितरण गरेको पालिकाले जनाएको छ ।
खडेरीले बारीमा मकै छर्न नपाएको र हिउँदे बाली समेत अमेरीकन फौजि किराले खाएर सखाप पारेपछि कतिपय स्थानीयबासीहरु गाउँ छाड्न बाध्य भएको थिए । पालिकाले तत्काल राहत वितरण गर्न नसकेपनि जनताको पिडालाई सम्बोधन गर्दै वडाले सिफारीस गरे अनुसार तीन वर्गमा विभाजन गरी राहत वितरण गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबादुर खड्काले बताए ।
क्षतीको आधारमा वडाले वर्ग विभाजन गरी पालिकामा सिफारीस गरे अनुसार पिडितहरुलाई पालिकाले राहत वितरण गरेको अध्यक्ष खड्काले बताए । असार अन्तिमको अविरल वर्षले सडक पूर्ण रुपमा क्षती गरेकाले दशै अगाडी राहत वितरण गर्न नसकेको उनले बताए । पालिकाले पहिला सडक मर्मत गरेर राहत दिएको छ । जनतालाई परेको मस्यालाई पालिकाले सम्बोधन गर्दै सधै सहयोग गर्ने उनले बताए ।
गर्त वर्षदेखि लागेको सुख्खामरणले स्थानीयबासीहरुमा ठूलो समस्या उत्पन्न गरेको रौतामाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी राना ज्यू ठकुरीले बताईन् । उक्त समस्यालाई पालिकाले सम्बोधन गर्दै राहत वितरण गरेको छ । सुख्खाकै कारण कतिपयले मन नहुदा नहुदै पनि गाउँ छाड्न बाध्य भएको उनले बताईन् ।
साविकको लाफागाउ गाविसको सवै वडा सुख्खामरण भएको रौतामाई गाउँपालिका–३ का वडाध्यक्ष दुर्गबहादुर खड्काले बताए । वडाको चन्ढौटे, बलिन्टार,बेलबोटे, आदामारा, विमिरे लगायतका गाउँ सुख्खामरनले मकै छर्न समेत नपाएको उनले बताए ।
गाउँमा परेको संकटलाई सम्बन्धित निकायसम्म पु¥याउने र पहल गर्दै अगाडी बढ्ने वडाध्यक्ष खड्काले बताए । जनताले चुनेर पठाएको एउटा जनप्रतिनिधि भएकाले जनताको समस्यालाई सधै आत्मसाथ गर्दै काम गर्ने उनले बताए ।
‘क’ वर्गका एक सय ३९ घर, ‘ख’ वर्गका एक सय पाँच घर र ‘ग’ वर्गका ११ घर परिवार पिडितलाई चामल १२ हजार आठ सय १५ केजी, दाल आठ सय ८७.५ केजी, तेल नौ सय ९८ पोका, चिनी छ सय ३८ केजी, नुन छ सय ४९ पोका, मसला ४४ हजार छ सय ५० ग्राम र साबुन आठ सय ९३ वटा वितरण गरेको पालिकाले जनाएको छ ।
‘क’ वर्गका पिडीतलाई ६० केजी चामल, ४ केजी दाल, ४ पोका तेल,३ पोका नुन, ३ केजी चिनी २ सय ग्राम (धनिया, जिरा) मसला र ४ वटा साबुन वितरण गरेको छ । त्यस्तै ‘ख’ वर्गका पिडितलाई चामल ४० केजी, दाल ३ केजी, तेल ४ पोका, नुन २ पोका, चिनी २ केजी, मसला १.५ ग्राम र साबुन ३ वटा वितरण गरेको छ भने ‘ग’ वर्गका पिडितलाई चामल २५ केजी, दाल १.५ केजी, तेल २ पोका, नुन २ पोका, चिनी १ केजी, मसला १०० ग्राम र साबुन २ वटा वितरण गरेको पालिकाले जनाएको छ । 
