
पूर्णपुष्टि, वैशाख २ ।
खुवालुङको चर्चासंगै यतिबेला खुवालुङ हेर्न आउनेको संख्या पनि उत्तिकै बढ्दो छ । जेटबाट जलयात्रा गरेर मात्र खुवालुङ पुगिन्छ । यसले जलयात्रा ब्यवसायलाई पनि टेवा पर्याएको छ ।
किराँत राई समुदायको आस्थाको केन्द्र खुवालुङको प्रचारप्रसार बढेसंगै हेर्न आउनेकोे संख्या दिनदिनै बढ्दो रहेको जलयात्रा ब्यवसायी खेगेन्द्रप्रसाद घिमिरेले बताउनुभयो ।
जलयात्रा गर्दै खुवालुङमा प्रधानमन्त्री केपी शर्मा ओली, १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईसमेत पुगिसकेका छन् । सप्तकोशीको पानी बीचमा रहेको ठूलो ढुंगोलाई किरात राई समुदायको भाषामा खुवालुङ भनिएको हो । जसको किराँत प्राचिन सभ्यतादेखिको लामो कथा छ । उक्त समुदायले यसलाई आप्mनो आस्थाको केन्द्र मान्दै आएको स्थानीय मेघराज राईले बताउनुभयो ।

खुवालुङ उदयपुरको बेलका नगरपालिका वडा नं. ७ र भोजपुर र धनकुटाको सिमास्थल त्रिवेणीमा पर्दछ ।
डुंगा, जेटबोट, मिनि पानीजहाज सञ्चालनमा अवरोध हुने भन्दै खुवालुङ फुटाउन लागिएकोमा स्थानीयबासी र सिंगो देशको किराँत राई समुदायले विरोध जनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली समेतले खुवालुङ फुटाउने बक्तब्य दिएका थिए तर, त्यसको कडा विरोध उठेपछि सरकार संरक्षणमा लाग्न बाध्य बनेको छ । हाल खुवालुङ नफुटाइ त्यसको आसपासबाट जेटबोट चल्ने विकल्प बनाइदैछ ।

चतरा सप्तकोशीपुलदेखि करिब ३ किलोसमटर माथि रहेको खुवालुङ पुग्न चर्चित धार्मिक स्थल बराहाक्षेत्र हुदै जानु पर्दछ । बराहाक्षेत्रदेखि करिब ५ सय मिटरको माथि खुवालुङ पर्दछ । देशको विभिन्न भागबाट किराँत राई समुदाय मात्र नभई अन्य जातीहरुसमेत हेर्न आउने गरेका छन्, जसले आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुगेको स्थानीय युवा सुपराज राईले बताउनुभयो ।
पछिल्लो समय किरात राई यायोक्खा लगायतका संस्थाहरु र प्राज्ञ ब्यक्तिहरुले संरक्षणको अभियानसंगै अध्यायन, अनुसन्धान गरिरहेका छन् । खुवालुङको बारेमा गहन अध्ययन, अनुसन्धान हुनुपर्ने र विशेष संरक्षण गरिनु पर्ने बरिष्ठ पत्रकार एवम् इतिहास लेखक कौशल चेम्जोङले बताउनुभयो ।

हाल सबैको चासो र चिन्ता, अध्ययनका कारण पनि सरकारले त्यस ठाउँलाई संरक्षण थालेको हो । किरात समुदायको आस्थाको केन्द्र र धार्मीक एवम् जल पर्यटनको हब बनाउन सके आर्थिक समृद्धिमा टेवा पुग्ने स्थानीय युवा ब्यवसायी बविन राईले बताउनुभयो ।

