Wednesday, June 17News That Matters

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय उदयपुरको काम विवादित, बजेट दुरुपयोगको आरोप

पूर्णपुष्टि, वैशाख २ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय उदयपुरले एक योजनामा लक्षीत वर्गको प्राथमिकता भन्दा बाहिर गएर काम गरेपछि बजेट दुरुपयोगको आरोप लागेको छ ।

बरुवाखोला मुहान भइ असारी–भुसुने सिचाइ योजना मर्मतको नाममा कार्यालयले लक्षित वर्गको प्राथमिकता भन्दा बाहिर काम गरेर बजेटको दुरुपयोग गरेको आरोप लागेको हो । योजनाको माथिल्लो भेगमा मर्मत आवश्यक हुँदाहुदै नहरको पानी नपुग्ने पुछार भागमा आरसिसि ढलानसहितको काम भइरहेको छ ।

काम गर्नु पर्ने ठाउँ, जहाँ सिचाइ कार्यालयकाे नजर पुगेन

भुसुने–असारी जल उपभोक्ता संस्थाका अध्यक्ष प्रयागराज रेग्मीका अनुसार मर्मत कार्य अति आवश्यक ठाउँमा गर्न आग्रह गर्दा कार्यालय प्रमुख देवनन्दन मण्डलले अस्विकार गर्दै पानी नै नपुग्ने ठाउँमा काम गराएका हुन् । आम उपभोक्ताको हित विपरित सजिलो ठाउँमा काम गराएका हुन् । ४ लाख ८२ हजार ४ सय ९० रुपैया लगत इस्टिमेटको मर्मत कार्य कोटेशनमार्फत एक कन्स्ट्रक्सनलाई ४ लाख ८१ हजार ९ सय ७१ रुपैयामा काम दिइएको छ । ५ लाख भन्दा कम बजेटको योजना कार्यालय प्रमुखले कोटेशन मार्फत काम गराउन सक्ने प्रावधान रहेको भएपनि त्यो काम लक्षित वर्गको उच्चतम हितमा हुन जरुरी छ ।

मर्मत गर्नु पर्ने ठाउँ, जहाँ सिचाइ कार्यालयकाे नजर पुगेन

स्थानीय कृषक सिंहबहादुर राईका अनुसार नहरको माथिल्लो विभिन्न भागमा कमजोर ठाउँ रहेको र ती ठाउँहरुमा माटो र बोरा राखेर पानी ल्याउने काम भईरहेको छ, तर सरकारी बजेट भने अनावश्यक ठाउँमा लगाएर दुरुपयोग भएको छ । असारीको पूर्वपश्चिम राजमार्गको कालोपत्रे सडक मुनी आरसिसि ढनालसहितको काम भईरहेको छ ।

कार्यालय प्रमुखको मनोमानीबाट काम हुँदा लक्षितवर्गको ठूलो हिस्सा सरकारी बजेटबाट बन्चित भएको संस्थाका सचिव प्रदिपकुमार अधिकरीले बताउनुभयो । सरकारी बजेट एक रुपैया भएपनि लक्षित क्षेत्रका नागरिकहरुको हक, अधिकार लाग्ने गर्छ तर, त्यहाँ के कति बजेटमा कसले काम गरिदैछ भन्ने पारदर्शितासमेत नभएको उहाँले बताउनुभयो ।

भुसुने–असारी जल उपभोक्ता संस्था नविकारण नभएको कारण कार्यालयले कोटेशनमार्फत काम गराएको जनाएको छ । संस्था नविकारण नभएपनि योजनाको तल्लो, मध्ये र माथिल्लो सबै भेगका उपभोक्ताहरुलाई पारदर्शीढंगले समेटेर काम नगराउदा विवाद समेत आएको छ ।

उपभोक्ताहरुको संस्था नविकरण नरहेको र तल्लो  भेगको उपभोक्ताहरुबाट माग आएकोले कोटेशनमार्फत काम गरिएको कार्यालय प्रमुख देवनन्दन मण्डलले बताउनुभयो । हाल तल्लो भेगको उपभोक्ताको हितमा काम गरिएको र आगामी दिनमा माथिल्लो भेगको समस्यालाई हेरी काम गरिने उहाँले बताउनुभयो । आवश्यकता हेरेर नै काम गरिएकोले सरकारी बजेटको दुरुपयोग भन्न नमिल्ने उहाँले तर्क राख्नुभयो ।