Friday, April 17News That Matters

खोटाङको गणेश फर्निचर उद्योगमा आगलागी, ५० लाख क्षति

पूर्णपुष्टि,चैत ३१

खोटाङमा आज बिहान फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा भएको आगलागीमा ५० लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी प्रहरीले जनाएको छ ।

स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उद्योगमा विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो ।

आगलागीमा टिनको छाना हालिएको काठले बारेको एक तले उद्योग घर, उद्योगमा भएका उपकरण, तयारी अवस्थाका फर्निचर, कच्चा काठ लगायत जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीमा ४ थान कटर मेसिन, एक थान जेनेरेटर, खराट मेसिन, २५ थान हाते मेसिन, १० लाख बराबरको तयारी अवस्थाका फर्निचर, फर्निचरका सामान बनाउन राखिएको ३७ लाख ५० हजार बराबरको काठ, १२ वटा कुखुरा लगायत जलेर नष्ट भएको छ ।

उद्योगमा आगलागी भएको खबर पाउनसाथ नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय बासिन्दाले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो ।