Thursday, June 18News That Matters

खोटाङमा वर्षा सँगै आएको आवाहुरीले विद्यालयको छाना उडायो

पूर्णपुष्टि,जेष्ठ १२ । खोटाङको दिप्रङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयमा वर्षासँगै आएको हावाहुरीले एक विद्यालयको जस्तापाताको छाना उडाएको छ । विहीवार साँझ लगातार वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म अध्ययन हुँदै आएको विद्यालयको दुईवटा भवनमा पूर्णरुपले क्षति पुर्याएको हो ।

हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदै आएको भवनको छाना उडाएको प्रधानाध्यापक देवेन्द्र श्रेष्ठले बताए । “दिनभर विद्यालय सञ्चालन गरिएको थियो । साँझ वर्षासँगै आएको हावाहुरीले छाना उडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क, बेञ्चलगायतका सामान भिजेको छ”, उनले भने, “हावाहुरीले विद्यालयको जस्तापाताको छाना उडाएर पाखामा पुर्याउँदा ठूलो क्षति भएको छ । हावाहुरीको क्षतिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन ।”

हावाहुरीले विद्यालय भवनको छाना उडाएपछि एक सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयको पठनपाठन अन्योलमा छ । हावाहुरीले क्षति पुर्याएको भवनमा केही दिनभित्रै छाना हालेर नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राईले बताए । बर्सेनि हावाहुरीले क्षति गर्दै आएको सो विद्यालयमा अधिकांश पुरानो संरचनाका भवन रहेकाले कुनै बेला मानवीय क्षतिसमेत हुनसक्ने सम्भावना रहेको अभिभावकले बताएका छन् ।