Tuesday, June 23News That Matters

गाइघाट बैंकहरूलाइ खुल्ने र बन्द हुने बार स्पष्टरूपले सुचना टाँस्न प्रशासनकाे निर्देशन

पूर्णपुष्टि, चैत २३ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले गाइघाटका बैंकहरुलाई खोल्ने र बन्द रहने समय स्पष्टसंग सूचना टाँस गर्न निर्देश गरेको छ । बैंकहरुको अनुगमनपछि प्रशासनले यस्तो निर्देशन दिएको हो ।

लकडाउनको बेला समय मिलाएर सर्बसाधारणलाई सेवा दिने भनेका बैंकहरुले आफुखुसी खोल्ने र नखोल्ने गरेको गुनासो आएपछि आज अनुगमन गरेको थियो । बैंकहरुले दिनमा दुइघण्टा सेवा दिने भन्दै खोले पनि आवश्यक सेवा नदिने गरेको गुनासो सर्बसाधारणको थियो । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीको नेतृत्वमा सुरक्षा प्रमुखहरुको अनुगमनटोलीले गुनासो आएजस्तै बैंकहरुले मनोमानीरुपले खोल्ने वा नखोल्ने गरेको पाएको थियो । खोले पनि कर्मचारी नबस्ने, कर्मचारी भएपनि भोली आउन भन्दै टार्ने गरेको पाएको थियो । जसले सर्बसाधारणले सेवाको सट्टा दुःख पाइरहेको थिए ।

भोलीदेखि कतिबजे, कति समयसम्म खुल्ने, के कस्ता सेवा लिनदिनसक्ने भन्ने कुरा प्रष्ट सूचना टाँस गरी बैंक सञ्चालन गर्न निर्देशन दिएको प्रजिअ पहाडीले बताउनुभयो ।

यसका साथै बैंकहरुले कोरोना भाइरसको संक्रमणप्रति सुरक्षा तथा सतर्कता नअपनाएको पाइएको छ । एटिएममा सेनिटाइजर राख्ने, हातधुन साबुन पानीको व्यवस्था गर्ने जस्ता कुराहरु नपाइएको प्रजिअ पहाडीले बताउनुभयो ।

साथै सदरमुकाम क्षेत्रमा रहेका पेट्रोलपम्पहरुको पनि अनुगमन गरिएको प्रशासनले जनाएको हो । हिजोको अनुगमनलाई निरन्तरता दिदै आज गरिदा पेट्रोलपम्पहरुले सहि ढंगले नै कारोवार गरेको पाइएको जनाइएको छ । केही समयअघि पुरानो मुल्यमा बिक्री गरेको गुनासो आएको थियो ।

प्रशासनले तरकारी दोकानका कारण बजारमा भीडभाड बढेको र अवव्यस्थित देखिएको भन्दै ठाउँखोजेर व्यवस्थित गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ । गाईघाट बजारको बैंक लाईनमा रहेका तरकारी पसलहरु सुरक्षाकर्मीले हटाएको छ । पुरानो गाईघाटस्थित तरकारी बजारलाई अहिलेको अवस्था अनुसार व्यवस्थित बनाउनतर्फ प्रशासनले ध्यान बढाएको छ । भोलीदेखि उक्त ठाउँमा गोलो घेरा लगाई तरकारी किनबेचमा दुरी कायम गराउने काम गर्ने भएको छ ।