Thursday, May 7News That Matters

गाईघाटको कृषि बजारः अस्तित्व खोज्दै स्थानीय तरकारी

पूर्णपुष्टि,पुष २७

“सीजनको बेला त लोकल तरकारी नै बेच्छु, अरु बेला पाउँदैन अनि बाहिरबाट आउने तरकारी बेच्छु” त्रियुगा नगरपालिका –१२ डि.एम.गेटका तरकारी व्यापारी राज कुमार साह भन्नुहुन्छ । साह विगत केहि बर्षदेखि गाईघाट स्थित सगरमाथा कृषि बजारमा निरन्तर तरकारी व्यापार गर्दै आइरहनु भएको छ ।

हाल गाईघाटको साकेला टोलबाट तरकारी खरिद गरी बजारमा विक्रि गर्ने साह बर्षाको समयमा भने बाहिरी जिल्लाहरुबाट आयात गरिएको तरकारी बेच्न बाध्य हुन्छन् । मौसमी तरकारी मात्र स्थानीय क्षेत्रमा उत्पादन हुने हुँदा अन्य मौसममा बाहिरी जिल्लाहरुबाट तरकारी आयात गर्नुपर्ने अवस्था छ । व्यापारी साह भन्नुहुन्छ,“ग्राहकले प्रायः स्थानीय तरकारी नै खोज्छन् तर के गर्ने लोकल तरकारी धेरै हुँदैन”। साहका अनुसार कतिपय ग्राहकलाई स्थानीय तरकारी भनी झुक्क्याएर पनि केहि व्यापारीहरुले बाहिरको तरकारी बेच्ने गर्छन् ।

त्यसैगरी त्रियुगा नगरपालिका–१३ सोनापुरका बजरंगी चौरासियाको ईच्छा पनि स्थानीय तरकारीकै व्यापार गर्नु हो । त्रियुगा नगरपालिका अन्तर्गतको बगाहा क्षेत्रबाट खरिद गरी विक्रि गर्ने चौरासियाको भनाई पनि राजकुमार साहको जस्तै छ । चौरासिया भन्नुहुन्छ,“स्थानीय तरकारी त महङ्गो दरमा पनि खरिद गर्न हिच्किदाउँदैनन् ग्राहक तर के गर्ने सिजनमा मात्र यहाँको तरकारी हुन्छ, त्यो पनि पुग्दैन”।

बाहिरी जिल्लाहरुबाट प्रत्येक दिन सरदर १३ टन तरकारी आयात हुने गरेको भन्नुहुन्छ सगरमाथा कृषि उपज बजार सञ्चालक समिति गाईघाटका सचिव शिव बहादुर खड्का । खड्काका अनुसार अहिलेको समयमा सरदर ७० देखि ८० प्रतिशत तरकारी बाहिरी जिल्लाहरुबाट आयात भइरहेको अवस्था छ । “हिउँदमा थोरै भएपनि स्थानीय तरकारी बजारमा आउँछ तर बर्षाको सीजनमा शतप्रतिशत बाहिरकै तरकारी ल्याउनुपर्ने हुन्छ” भन्नुहुन्छ सचिब खड्का । स्थानीय तरकारीले मात्रै गाईघाटको माग धान्न नसक्ने भएकोले बाहिरी जिल्लाहरुबाट तरकारी ल्याउनुपर्ने बाध्यता रहेको देखिन्छ । सचिव खड्का भन्नुहुन्छ,“गाईघाटमा तरकारीको माग उच्च छ, स्थानीय तरकारीले मात्र पुग्दैन । त्यसैले बाहिरबाट तरकारी आयात गर्नुको विकल्प छैन”।

सचिव खड्काका अनुसार विशेषगरी असोज महिनादेखि मात्र स्थानीय तरकारी बजारमा आउने गर्छ । गाईघाटमा असोजदेखि जिल्लाका पहाडी भेग रौतामाई, साउने, खाँबु र लिम्चुङ्बुङ्बाट बन्दा, आलु, स्कुस र काँक्रा जस्ता तरकारी आउने गर्छ । यी क्षेत्रहरुबाट हप्ताको मङ्गलवार १२ टनको हाराहारीमा तरकारी आयात हुने गर्दछ । त्यसैगरी त्रियुगा नगरपालिका अन्तर्गतको बगाहाबाट २ टन, भुल्के क्षेत्रबाट १ टनको हाराहारीमा तरकारी आउने अनुमान गरिएको छ भने अन्यको अवस्था नगन्य देखिन्छ ।

बाहिरी जिल्लाहरुबाट आएको तरकारी गाईघाटको विभिन्न स्थानहरु, बोक्से, मोतिगडा, देउरी, बगाहा लगायतका बजारहरुमा विक्रिका लागि लाने गरेको व्यापारीहरुको भनाई छ । गाईघाटको कृषि बजारमा बाहिरी जिल्लाहरु सुनसरीको इनरुवा, धरान, सिरहाको गोलबजार र त्यसैगरी टिस्टुङ क्षेत्रबाट तरकारी आयात गरिन्छ । यसरी तरकारीको लागी करोडौँ रकम जिल्ला बाहिर गईरहेको अबस्था छ ।

तरकारी खेतिका लागि सरकारी, गैर–सरकारी तथ अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट विभिन्न कार्यक्रमहरु सञ्चालन भएतापनि प्रभावकारी भएको देखिदैन । ती कार्यक्रमहरु केवल बालुवा माथि पानी सरह भएको छ । अन्य मुलूकहरुले विभिन्न नविनतम प्रविधिबाट सबै मौसममा तरकारी उत्पादन गरीरहेको बेला यहाँ भने अझसम्म परम्परागत मौसमी तरकारी खेतीमै रुमलिएको अवस्था छ ।

तरकारी किन्न आउँदा स्थानीय तरकारीनै धेरैजसोको रोजाई भएपनि माग बमोजिम आपूर्ति हुन नसक्दा बाहिरबाट ल्याएको तरकारी किन्नुपर्ने बाध्यता देखिन्छ । उपलब्ध भएसम्म केहि बढि रकम तिरेरै भएपनि स्थानीय तरकारीर नै किन्नुहुन्छ त्रियुगा – ११ की मन्त कुमारी राई । राई भन्नुहुन्छ,“बाहिरी जिल्लाहरुबाट ल्याएको र लोकल तरकारीको स्वादमा पनि धेरै फरक पर्छ”। स्थानीय तरकारी अर्ग्यानिक हुने तर बाहिरबाट ल्याइएको तरकारीमा विषादीको प्रयोग हुने भएकोले धेरैजसो ग्राहकको प्राथमिकतामा स्थानीय तरकारी नै हुने गरेको छ ।

तरकारी खेतिको प्रचूर सम्भावना रहेको उदयपुर जिल्लामा उचित नीति तथा कार्यक्रमको अभावका साथै वैज्ञानिक ढङ्गबाट व्यवस्थापन नभएको कारण स्थानीय तरकारी उत्पादनको अवस्था निराशाजनक देखिन्छ । नेपाल सरकारद्वारा निर्धारित प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना जस्ता महत्वाकांक्षी कार्यक्रमले पनि स्थानीय तरकारी खेतिमा खासै टेवा पुगेको देखिदैन ।