Thursday, May 7News That Matters

प्रेस प्रतिनिधि कार्डको काम उदयपुर जिल्लाबाटै थालियो, दुई पत्रकारले लिए पहिलोपटक जिल्लाबाटै सेवा

पूर्णपुष्टि, पुस २७ गते । 

पत्रकारहरुका लागि नेपाल सरकारको सूचना तथा प्रशारण विभागबाट जारी गर्दै आएको प्रेस प्रतिनिधि कार्ड उदयपुरमा जिल्लाबाटै उपलब्ध गराउने काम थालनी भएको छ ।

आज पहिलोपटक जिल्लाका दुई पत्रकारको प्रेस प्रतिनिधि कार्ड अर्थात पत्रकार परिचय पत्र नविकरणको काम जिल्ला हुलाक कार्यालयले गरेको छ । गत मंसिर २६ गते विभागले परिपत्र गर्दै जिल्ला हुलाकलाई कामको लागि अधिकार प्रत्यायोजन गरेको थियो । प्रेस प्रतिनिधि कार्ड नयाँ तथा नविकरण गर्नका साथै अनलाईन पत्रिका दर्ता तथा नविकरणसमेतका लागि जिल्लाबाटै काम गर्नसक्ने अधिकार प्रत्यायोजन भएको छ । सोही अनुसार सबै पत्रकारहरुलाई सूचित गरिएको थियो ।

जिल्लामा आएको यो सेवा पहिलोपटक पत्रकार हरिकुमार राई र भोटराज राईले लिएका छन् । उहाँहरुले जिल्ला हुलाकबाटै आप्mना पत्रकार परिचय पत्रको नविकरणको काम गराएको हुलाक अधिकृत हरिलाल खत्रीले बताउनुभयो ।

अधिकृत खत्रीले विभागले तोके बमोजिमको कागजात, निवेदन र शुल्क बुझेर नविकरणको काम अगाडी बढाइएको बताउनुभयो । हाल जिल्ला हुलाकमा विभिन्न कागजातसहित निवेदन र तोकिएको शुल्क बुभ्mने र क्षेत्रीय कार्यालयमा पठाईने प्रावधान रहेको छ । क्षेत्रबाट नयाँ वा नविकरण कार्य बनाई पुनः जिल्लामै पठाउने र सम्बन्धीत पत्रकारलाई उपलब्ध गराउने ब्यवस्था रहेको कार्यालयका नायव सुब्बा राम राईले बताउनुभयो । अनलाईन नयाँ दर्ता तथा नविकरणको काम पनि सोही हिसावले सम्पूर्ण कागजातसहित निवेदन र तोकिएको शुल्क लिई क्षेत्र तथा केन्द्रमा पठाई काम पुरा गराईने प्रावधान रहेको पनि राईले बताउनुभयो ।

निवेदन, कागजात र शुल्क बुझेपछि कार्यालयले तत्कालका लागि सम्बन्धीत पत्रकारलाइ क्षेत्रमा पठाएकाे पत्रकाे बाेधार्थ उपलब्ध गराउने गरेकाे छ ।

एउटा कार्ड नविकरणका लागि क्षेत्र वा केन्द्रमै धाउनु पर्दा पत्रकारहरुलाई पैसा र समय धेरै खर्चिनु पर्ने बाध्यता थियो । सरकारले जिल्लामै यो व्यवस्था गरेसंगै पत्रकारहरु र अनलाईन सञ्चालकहरुलाई सजिलो भएको नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका सचिवसमेत रहनु भएका पत्रकार हरि कुमार राईले बताउनुभयो ।

पत्रकार महासंघ उदयपुरका उपाध्यक्षसमेत रहेका पत्रकार भोटराज राईले पहिलेदेखि जिल्लामै यस्तो सेवा होस् भनेको चाहना पुरा भएको बताउनुभयो । जिल्ला हुलाकमै पहिलो पटक सेवा लिएको अनुभव र खुसी साट्दै राईले विभागले तोकेको निवेदन, कागजपत्र र शुल्कबारे बुझेर वा विभागको वेवसाईडमा अध्ययन गरेर जाँदा अझ सजिलो र छिटो काम हुने बताउनुभयो ।