
पूर्णपुष्टि, फागुन २३
गाईघाटमा त्रियुगा नगर खेलकुद महोत्सव आईतबार बाट सुरु भएको छ । बिभिन्न ८ विद्यामा खेलाइने खेलको त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीले औपचारिक रुपमा आज उद्घाटन गर्नुभयो ।
बिभिन्न विद्यामा फुटवल, भलिवल, क्रिकेट, साईकलिङ, कराँते, तेक्वान्दो, बक्सिङ र व्याडमिन्टन आदि खेलहरु खेलाइने त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको कार्यालय सचिव उदय राईले बताउनुभयो ।
खेल आजबाट बिभिन्न स्थानहरुमा सुरु भएको छ । फुटवल थारुहट रंगशालामा सुरु भएको छ भने साइकलिङ चप्पनमा भएको छ । भलिवल बोक्से नयाँवस्तिमा हुने छ, क्रिकेट पूर्वपश्चिम बसपार्क छेउ हुनेछ भने अन्य व्याडमिन्टन, कराँते, बक्सिङ, लगायतका खेलहरु बोक्से कवर्डहलमा हुने सचिव राईले बताउनुभयो ।
उद्घाटनको दिन चप्पनमा साईकलिङ प्रतियोगिता भईसकेको छ भने थारुहट रंगशालामा फुटवल प्रतियोगिता भएको छ । अन्य खेलहरु चरणबद्ध रुपले खेलाउँदै लगिने आयोजकले जनाएको छ ।
त्रियुगा नगरपालिकाको संयोजनमा त्रियुगा नगर तथा खेलकुद विकास समिति उदयपुरको आयोजनामा भव्य रुपमा खेलकुद महोत्सव भईरहेको छ । १६ ओटै वडाहरुका विभिन्न विद्याका खेलाडीहरुलाई सफल खेलाडी उत्पादनको लागि खेलकुद महोत्सव आयोजना गरिएको छ । फुटवलमा १४ ओटा वडाहरुले सहभागी जनाएको छ । फुटवल उद्घाटनको दिन त्रियुगा नगरपालिका ११ र त्रियुगा नगरपालिका ३ ले प्रतिस्पर्धा गरेको छ । खेलकुद महोत्सव फागुन २३ देखि चैत्र २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

