Saturday, April 18News That Matters

गाईघाटलाई हराउँदै नमोबुद्ध सप्तरीले जित्यो १७ औं सहिद भीमनारायण गोल्डकपको उपाधि

पूर्णपुष्टि, चैत्र २३ । धनकुटामा सम्पन्न १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि नमोबुद्ध फुटबल क्लब सप्तरीले जितेको छ । शनिबार तल्लो टुँडिखेलमा भएको फाईनल खेलमा गाईघाट फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–५ गोलले हराउँदै सप्तरीले उपाधि चुमेको हो ।

निर्धारित समयमा दुबै टिमले २–२ गोलको रोमाञ्चक बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । दुई पटक पछि परेको स्थिति उल्टाउँदै पुनरागमन गरेको गाईघाट पेनाल्टी सुटआउटमा चुक्दा उपाधि गुमाउन पुग्यो । पेनाल्टी सुटआउटमा सप्तरीको ५ जना खेलाडीले गोल गरे भने गाईघाटको ४ जना मध्ये एक जनाको प्रहार गोल रक्षकले रोकेका थिए ।

यस अघि खेलको ३८ औँ मिनेटमा जर्सी नं. ९ का राज भुसालले गोल गर्दै नमोबुद्ध सप्तरीलाई आग्रता दिलाएका थिए भने गोल भएको एककै मिनेटमा जर्सी नं. ७ का आशिष राईले गोल गर्दै गाईघाटलाई खेलमा फर्काए । त्यस्तै खेलको ४३ औँ मिनेटमा जर्सी नंं. १० का क्षितिज भण्डारीले गोल गर्दै नव बुद्धलाई पुन एक पटक आग्रता दिलाएका थिए भने खेलको ८५ औँ मिनेटमा गाईघाटका जर्सी नं. ६ का असिम राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

उपाधि विजेता नमोबुद्धले नगद ५ लाख सहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पारेको छ भने उपविजेता गाईघाटले नगद २ लाख ५० हजार सहित ट्रफि मेडल, कप, प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ । भीमनारायण गोल्डकपको १७ वर्षे दौरानमा यी दुबै क्लब पहिलो पटक फाईनल पुगेको हो । दुवै टिमले यस अघिका प्रतियोगितामा उपाधि उचालिसकेका दावेदार टिमलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेका थिए ।