
पूर्णपुष्टि, भदौ ११ । त्रियुगा उद्योग वाणिज्य संघले विश्व बैंकको लगानीमा त्रियुगा नगरपालिकाको बजार क्षेत्रमा निर्माणाधीन सडकको धुलो न्युनिकरण गर्न दैनिक ५ पटक सम्म पानी छर्कन माग गरेको छ । बुधबार संघले ध्यानाकर्षण पत्र जारी गर्दै निर्माण कम्पनी र ठेकेदारको लापरवाहीका कारण सडक निर्माण समयमै सम्पन्न नहुँदा धुलोको कारण व्यवसायीहरू समस्यामा परेको जनाएको छ ।
२०८२ साल असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने सडक निर्माण अझैपनि पूरा हुन नसकेको कारण बजार क्षेत्रमा धुलो र अस्तव्यस्तताले व्यवसायीहरू मारमा परेको संघको गुनासो छ । ‘देशको कुल राजस्वको ८० प्रतिशत राजस्व संकलनमा योगदान गर्ने निजी क्षेत्र विभिन्न समस्या र आर्थिक मन्दीका कारण घरायसी हुँदै गएको अवस्थामा स्थानीय सरकारको तर्फबाट उद्योग व्यवसाय सञ्चालन तथा व्यावसायिक विकासका लागि हौसला स्वरूप राहतका प्याकेजहरु आह्वान हुनुपर्ने अवस्थामा उल्टै समस्या थपिएको,’ संघको भनाई छ ।
संघले सम्बन्धित निर्माण कम्पनीलाई आवश्यक निर्देशन दिन र बजार क्षेत्रमा धुलोको समस्या न्यूनीकरण गर्न दैनिक चार–पाँच पटक पानी छर्कने व्यवस्था मिलाउन नगरपालिकासँग माग गरेको छ ।
