
पूर्णपुष्टि, फागुन २३ ।
उदयपुरको गाईघाटस्थित गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरको गम्भिर लापरवाहीपूर्ण उपचारले पिडित बनेका विरामीले न्यायको जोडदार माग गरेका छन् ।
पिडित खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ३ बाम्राङका ४२ वर्षिय पूर्णबहादुर खत्रीले स्पताल र डाक्टरले आप्mनो स्वास्थ्यमाथि गम्भिर खेलवाड गरेकाले आफ्नो उपचारसहित क्षतीपूर्ती र दोषीलाई कारवाहीको माग राखेको हो ।
शुक्रबार विहान पत्रकार सम्मेलन गर्नुभएको पिडित खत्रीले अस्पताल सञ्चालक तथा प्रहरीमासमेत हाइगुहार माग्दासम्म वेवास्ता भएपछि पत्रकार सम्मेलन गर्न बाध्य भएको खत्रीले बताएका छन् । “मलाई न्यायको लागि मिडिया जगतबाट सहयोग गरिदिनुपर्यो ।” खत्रीले भन्नुभयो “म सरासर ठूलो अन्यायमा परेको छु ।”
खत्रीले देब्रे कुममा राखिएको स्टिल अप्रेशन गरी निकाल्नु पर्नेमा हस्पिटलका डाक्टर संजयकुमार साहले स्टिल त्यहि छाडेर हड्डी काटिदिएको बताउनुभयो । स्टिल लगाएर हात ठिक पार्न खोजेका उनको डाक्टरले उल्टै हड्डी काटिदिएपछि हात पहिलेको अवस्थामै बनाउने आश मार्न बाध्य भएका छन् । यो डाक्टरको गम्भिर लापरवाही हो भन्दै पूर्णरुपले उपचारको माग गरेका छन् ।
हातको कुम जोेड्न राखिएको स्टिल र कुमको अवस्था जाँच गर्न एक्सरे गर्न हस्पिटल जाँदा जबरजस्ती अप्रेशन गर्न लगाईएको उनले बताए । डाक्टर साहले सुरुमा ५५ हजार लाग्छ भनेपछि अप्रेशन नगर्ने भन्दै फर्किन लाग्दा अस्पतालका सञ्चालक मध्येका एक राजु बस्नेतले मोलमोलाई गर्दै २५ हजारमै गरिदिने भन्दै जबरजस्ती गरेको विरामीका भतिज लेखराज कटुवालले बताए । पशुलाई जस्तो मोलमोलाई गर्दा डाक्टरले राम्रो नगरिदिने, जोखिम हुन्छ भन्दा बस्नेतले विश्वास गर्न भन्दै जबरजस्ती गराएको उनले बताए ।
पिडित खत्रीका गतवर्ष लडेर देब्रे कुम खुस्केपछि नेपाल अर्थोपेडिक अस्पताल काठमाडौंमा अप्रेशन गरी कुम जोड्न स्टिल लगाईएको थियो । बीचमा बेलाबेलामा स्टिलको अवस्था बुझ्न जाँच गराइराख्नु पर्ने भएपछि धेरैजसो समय काठमाडौंमा गराएको र दुई पटक बाटैमा पर्ने भएकाले गाईघाट शिभिल हस्पिटलमा जाँच गराएका थिए ।
जाँचको क्रममा काठमाडौं र गाईघाटको दुबै अस्पतालले राम्रो भएको रिपोर्ट दिएको थियो । “रिपोर्ट देखाउदै खत्रीले भने “अस्पताल र डाक्टरले नियतबस मेरो हड्डी काटेर धेरै खर्च गराउन खोजेको भन्ने पनिलागेको छ ।” राम्रो रिपोर्टको आधारमा स्टिल निकाल्नु पर्ने अवस्थामा काठमाडौं नै जान खोजेका विरामीलाई यहि ठीक हुन्छ भन्दै जबरजस्ती अप्रेशन गर्दा सिभिल अस्पतालका डाक्टरले लापरवाही गरेको पिडित खत्रीले बताउनुभयो । अप्रेशन पछि विरामीलाई थप पिडा महशुस भएपछि काठमाडौं नै गएर जाँच गराउदा स्टिल ननिकालिएको, बरु हड्डी काटिएको थाहा भएको थियो ।
सो हस्पिटल विगतदेखि नै सेवा प्रवाह र शुल्कको सन्दर्भमा विवादित बन्दै आएको छ । स्थानीय गोपीकृष्ण बस्नेतले अस्पताल र डाक्टरको लापरवाहीपूर्ण यस्ता घटनाहरु दर्जनौ भईसकेको बताउनुभयो । अस्पतालका डाक्टर साहसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सञ्चालक मध्येका एक राम गुरागाईले खत्रीको घटना बारे बुझ्न बाँकी रहेको जवाफ दिनुभयो ।
सम्बन्धीत तस्विरहरू

