
पूर्णपुष्टि, साउन २६
रुकुम पश्चिमको एक गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायकको जागीर चैट भएको छ । त्रिवेणी गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायक सुवास केसीको जागिर चैट भएको हो ।
गाउँपालिकाको बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेपछि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको संयोजकत्वमा गठन गरेको छानबिन कार्यदलले केसीलाई जागिरबाट निकाल्ने निर्णय गरेको हो ।
छानबिनको क्रममा केसीले आफ्नो, आफ्नो श्रीमती र लेखा सहायक सुवासको खातामा झण्डै २५ लाख रुपैयाँ जम्मा गरेको पाइएको थियो ।
केसी गत जेठ महिनादेखि गाउँपालिकाको लेखा सहायकमा करारमा नियुक्त भएका थिए । गाउँपालिकामै कार्यरत सुवासका अंकलसमेत रहेका लेखापाल हेमन्त केसीको सहयोगमा आफ्नो खातामा मात्रै गाउँपालिकाको ७ लाख ९१ हजार रुपैयाँ रकम जम्मा गरेका थिए ।
लेखापाल केसीले सुवासको तलब र भत्ताको लागि भन्दै गाउँपालिकामा जवाफ दिएका थिए । जेठ महिनामा करारमा नियुक्त भए पनि उनले फागुनदेखि नै महिनाको १ लाख ५६ हजारका दरले तलब र भत्ता बुझेको देखिएको कार्यदलले जनाएको छ ।
कार्यदलले लेखापालको नाममा गएको रकमको कागजात हेर्ने र जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन सुरु गरेकाले छानबिनमा सहयोग गर्ने निर्णय गरेको कार्यदलले जनाएको छ ।
छानबिन हुँदै गर्दा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, उनकी श्रीमती बिर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता गरेका थिए ।
रकम आफन्तको खातामा हाल्ने लेखापाल र त्यस काममा सघाउँने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत मिलोमतो भएको भन्दै कारबाही हुनुपर्ने माग स्थानीयले गर्दै आएका छन् ।
