
पूर्णपुष्टि, फानगुन २३ ।
गाउँपालिकाका अध्यक्ष नै हतियार बोकेर हिड्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले गाउँमा हतियारसहित हिँडडुल गरेपछि स्थानीयहरु त्रसित भएका हुन् ।
आइतबार गाउँपालिका–६ स्थित घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकलमा बसेका छन् । अध्यक्षा बस्नेतले पनि बन्दुक आफ्नो भएको र बन्दुक बोक्ने युवक आफ्नो साथी भएको बताए ।
अध्यक्ष बस्नेतले आफ्नो गाडी अन्यत्र जाने भएपछि साथीलाई बन्दुक घर पु¥याइदिन आग्रह गरेको बताए । उनले आफूसँग बन्दुकको लाइसेन्स भएको पनि बताएका छन् ।
अध्यक्ष बस्नेत बन्दुक बोकेर गाउँ डुलेको जानकारी जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पनि पाएका छन् । उनले आफूले अध्यक्ष बस्नेतसँग यस विषयमा कुराकानी भएको बताए ।
प्रमुख जिल्ला अधिकारी शाहीले हतियार बोकेर गाउँमा हिँडेको विषयमा थप बुझ्न प्रहरीलाई निर्देशन दिएको बताए । अध्यक्ष बस्नेतले सुरक्षा जोखिम भएर हतियार बोकेको बारे आफूलाई जानकारी नभएको प्रजिअ शाहीले बताए ।
