
पूर्णपुष्टि, साउन १९ । गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा गत आइतबार गएको पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सात दिनपछि फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार आरुघाट गाउँपालिका–८ लामागाउँका २४ वर्षीय रमेश परियारको शव शनिबार बिहान घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा भेटिएको हो। ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बसेका थिए। त्यही बेला पहिरोमा परेर उनी बेपत्ता भएका थिए।
यस पहिरोमा कुल पाँच जना बेपत्ता भएका थिए। यसअघि नै ७० वर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जीतबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीया कान्छी गुरुङको शव फेला परिसकेको छ। यसैबीच, पहिरोमा परेर घाइते भएका सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
