
पूर्णपुष्टि, भदौ ८
गोर्खा वेल्फेयर ट्रष्ट नेपालले बेलकाका सप्तकोशी पिडितहरुलाई दोस्रो चरणमा आज राहत वितरण गरेको छ । वेल्फेयरको उत्थानशील खानेपानी सरसफाई तथा विपद तयारी कार्यक्रमको सहयोगमा ९८ घर परिवारलाई विभिन्न साम्रग्री वितरण गरेको हो । राहत प्याकेज अन्तर्गत आत्म सम्मान÷स्वच्छता सामग्र, सरसफाई सामग्री, भाँडाकुडा÷किचन सेट, खाद्यान्न सामग्री र बन्दोबस्तीको सामग्री ९८\९८ सेट उपलब्ध गराएको हो । १५ लाख ७० हजार २५४ रुपैया बराबरको राहत सामग्री वितरण गरेको वेल्फेयरले जनाएको छ ।
एक परिवारलाई आवश्यक पर्ने खाद्यन्नदेखि प्रयोगका सामग्रीहरु सम्मिलत राहत प्याकेज वितरण भएको र यसले पिडितहरुलाई फाइदा पुग्ने बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनुभयो । विपद् तथा विभिन्न कारणले समस्यामा परेकाहरुलाई वेल्फेयरले सहयोग गर्ने गरेको सिनियर एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख पूर्णप्रसाद लिम्बुले बताउनुभयो ।
नगरपालिकाको समन्वयमा प्रमाणीकरण भएका पिडितलाई आवश्यकता अनुसार राहत वितरण गरिने उहाँले बताउनुभयो । ट्रकबाट ढुवानी गरिएको राहत स्थानीय एक विद्यालय चौरीमा वितरण गरिएको थियो । वितरण कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो । वेलफेयरले यसअघि पहिलो चरणमा १५ लाख २३ रुपैया बराबरको राहत सामग्री ९४ घरपरिवारलाई वितरण गरेको थियो । वितरणमा वेल्फेयरका प्रतिनिधि एवम् सदस्यहरु खटिएका थिए ।
