Saturday, June 20News That Matters

ग्रामिण क्षेत्रमा पनि लकडाउनको पालना भईरहेको छ

चौदण्डीगढी/चैत्र,२१

उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले ग्रामीण क्षेत्रमा पनि लकडाउनको पालना भइरहेको बताउनुभएको छ ।

पछिल्लो समय बजार क्षेत्रमा मानवीय चहलपहल न्यून भएको र गाउँघरमा पनि भीडभाड र हिड्डुल गर्ने क्रम न्यून भएको प्रहरी निरिक्षक चौलागाईले बताउनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउनमा कडाइ गरेपछि अहिले बजारमा अत्यावश्यक कामले मात्र मानिसहरु निस्कने र हिड्ने गरेको पाइएको छ । खाद्यन्न किन्न, औषधी, तरकारी, फुलफुल जस्ता अत्यावश्यक सामान किन्न बजार आउने गरेका छन् । त्यसरी आउनेहरुलाई प्रहरीले अनिवार्यरुपमा मास्क प्रयोग गर्ने र दुरी कायम गरेर मात्र हिड्ने वा किनमेल गर्ने गराएको छ ।

बजारमा हिड्डुल गर्नेलाई सोधीखोजी गरेर मात्र छाडिने गरेको छ । अनावश्यकरुपमा हिडडुल गर्नेलाई फर्काइने गरिएको छ । सुरुको समयमा पटक पटक सम्झाउदा पनि अटेर गर्नेलाई सामान्य बल प्रयोगसमेत गर्नुपरेको बताउनुभयो ।

लकडाउन उलंघन गर्नेमा सामान्य नागरिक भन्दा पनि आफुलाई सामाजिक अगुवा ठान्नेहरु बढि रहेको चौलागाईले बताउनुभयो । अगुवा भनाउदा र बुझकी भनाउदाहरुलाई पनि पनि प्रहरीले सम्झाउनु परेको थियो । पछिल्लो समय लकडाउनको महत्व, अर्थ बुझेको र कोरोनो भाइरसको संक्रमणबारे चेतना बढेको पाइएको उहाँले बताउनुभयो ।

उहाँले अझै पनि लकडाउन र कोरोना भाइरसको संक्रमणको सम्भावना रहेकोले लकडाउनको पूर्ण पालना गरी घरमै सुरक्षित बसिदिन आग्रह गर्नुभएको छ । अनावश्यक रुपमा कोही पनि बाहीर ननिस्किदिन उहाँले अनुरोध गर्नुभयो । साथै विशेष कामले निस्कदा अनिवार्यरुपमा मास्क प्रयोग गरिदिन, साबुन पानीले बारम्बार हात धुन वा सेनीटाइजर प्रयोग गरिदिन अनुरोध गर्नुभयो । यतिबेला भिडभाड हुने कुनै पनि काम नगर्न आग्रह गर्नुभएको छ । उहाँले लकडाउनको अवज्ञा तथा कोरोना भाइरसको संक्रमणप्रति लापरवाही नगर्न आग्रह गर्दै यस विरुद्धमा हुने जो कोहीलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।