
१.
उदयपुरमा घरको कम्पाउण्डभन्दा बाहिर हिड्डुल गर्न नपाइने गरी प्रशासनले निशेधाज्ञ जारी गरेको छ । आज राती १२ बजेदेखि लागु हुनेगरी यस्तो आदेश जारी भएको हो । सातदिनका लागि आदेश जारी भएको हो । आगामी जेठ १४ गते राती १२ बजेसम्म आदेश लागु हुने प्रशासनले सुचित गरेको छ ।
जिल्लामा कोरोना संक्रमण उच्चदरले बढेको र संक्रमितहरु मर्न थालेकाले कडा आदेश जारी गरेको हो । प्रशासनले पहिलो एकहप्ताको आदेश वैशाख २४ देखि ३१ गतेसम्म जारी गरेको थियो । दोस्रो पटक एकहप्ताको लागि आजसम्मका लागि जारी गरेको थियो । दोस्रो आदेश आज राती १२ बजेराती सकिने लगत्तै तेस्रो पटक आदेश एकहप्ताको लागि जारी भएको हो ।
पहिलो र दोस्रो पटकको आदेश सामान्य खुकुलो गरिएको थियो । तर अवको आदेश भने कडा गरिएको प्रशासनले जनाएको छ । निशेधाज्ञ आदेश पालना कडा रुपले पालना गर्न प्रशासनले सुचित गरेको छ ।
औषधि खरिद, अस्पताल आवतजावत, विरामी कुरुवा तथा आपतकालिन अवस्था बाहेकमा आवतजावत मात्र नभइ सबैखाले गतिविधि ठप्प पार्न भनिएको छ ।
अत्यावश्यक काम गर्ने सरकारी कार्यालय तथा संस्थाहरु बाहेक अन्य सम्पूर्ण सरकारी कार्यालय, बैंक, वित्तिय संस्थाहरु सन्चालन गर्न नपाउने आदेश छ । आदेश अनुसार कुनै पनि कार्यक्रम, मेला, मनोरञ्जन, खेलकुद गतिविधि तथा आयोजना गर्न पाइने छैन । जुलुस, प्रदर्शन केही गर्न पाउने छैन । कुलपुजा, देवाली आदिमा पनि जमघट गराउन पाउने छैन । मन्दिर, गुम्वा, चैत्य, विहार, मस्जिद, चर्च आदिमा भेला हुन पाउने छैन । विद्यालय, क्याम्पस, ट्युसन सेन्टर सबै बन्द भनिएको छ ।
संचालन अनुमति भएका अति आवश्यकीय क्षेत्रहरु सुरक्षा, स्वास्थ्य, प्रेस, सववाहन, एम्बुलेन्सको सवारी बाहेक सार्वजनिक तथा निजि यात्रुवाहक सवारी साधन सन्चालन गर्न नपाउने आदिश छ । संचालन अनुमती भएका सवारी साधनहरु पनि स्वास्थ्य मापदण्ड विपरित भएमा रोकिने जनाइएको छ ।
गर्न पाइने केही कुराहरु आदेशमा स्पष्ट पारिएका छन् । औषधि खरिद, अस्पताल, विरामी कुरुवा, मृत्यु संस्कार तथा आपतकालिन अवस्थामा तोकिएको स्थानमा मात्र आवतजावत गर्न पाइनेछ ।
अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, पेटोलियम पदार्थ, खाद्यन्न, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, दुरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, कुरियर, डाक, फोहरमैला व्यवस्थापन लगायतका सेवाहरु सञ्चालन गर्न पाउनेछ ।
अत्यावश्यक कार्य गर्ने सरकारी कार्यालय तथा संस्थानहरुका कर्मचारीहरुका लागि सरकारी वा नीजि सवारी साधनहरुमा पोशाक तथा परिचय पत्रका साथ कार्यालय आवत जावत गर्न पाउनेछ ।
संचारकर्म, पत्रकारहरुको हकमा सुचना संकलन र सम्प्रेशन गर्न सुचना विभागले जारी गरेको परिचय पत्र वा सम्बन्धीत सचार गृहको परिचय पत्रको आधारमा आवतजावत गर्न पाउनेछ । यसवाहेकका अतिआवश्यक अवस्थाकाले सवारी साधन प्रयोग गर्नु परेमा प्रजिअको अनुमति पत्र लिनुपर्दछ । त्यसका लागि स्थानीय तहको सिफारिससहित निवेदन पेश गर्नुपर्ने, अस्पतालको हकमा अस्पतालको कागजातसमेत पेश गर्नुपर्नेछ ।
आदेशमा अत्यावश्यक खाद्य सामग्री सम्बन्धमा पनि प्रष्ट व्यवस्था गरिएको छ । विहान ७ देखि ९ बजेसम्म दुई घण्टा खाद्य सामग्री, फलफुल, तरकारी, अण्डा, कुखुरा, माछा तथा मासुको पसल व्यवसाय र औषधि ९भेटेनरीसहित० खुल्न पाउने छन् । त्यस वाहेक अन्य पसल व्यवसायलाई बन्द गर्ने आदेश छ । सञ्चालन हुने व्यापार व्यवसायहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने प्रष्ट पारिएको छ ।
जिल्लामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्यरुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेशनमा बस्नुपर्ने आदेश छ ,
२
निकै दिनको अन्तरालमा उदयपुरमा आज संक्रमित भन्दा निको हुनेको संख्या बढि देखिएको छ । पछिल्लो २४ घण्टामा २२ जना संक्रमित निको भएका छन् । योसंगै उदयपुरमा निको हुनेको संख्या ६० जना पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लाको विभिन्न ठाउँमा होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेकाहरु निको भएका हुन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा संक्रमित २० जना थपिएका छन् । ४६ जनाको एन्टिजेन परिक्षणमा १२ महिला र ८ पुरुष गरी २० जना संक्रमित देखिएका हुन् । योसंगै उदयपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ५०५ रहेको छ ।
मृत्यु हुनेको संख्या २ जना थपिएको छ । उदयपुरगढी गाउँपालिकाकी ५६ वर्षिय महिला र कटारी नगरपालिकाका ५५ वर्षिय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । योसंग उदयपुरमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
निको भएका ६०, संक्रिय संक्रमित ५०५ र मृतक १८ गरी उदयपुरमा जम्मा संक्रमितको संख्या ५८३ रहेको छ ।
३
नेपाल पत्रकार महासंघ उदयपुरले स्थापना गरेको विपद कोषमा सहयोग जुट्ने क्रम सुरु भएको छ । पत्रकार महासंका सचिव विश्वराज तामाङका अनुसार हालसम्म विपद कोषमा ३२ हजार ५ सय रुपैया संकलन भइसकेको छ भनेसहयोग जुट्ने क्रम सुरु जारी छ ।
कोषमा शाखा अध्यक्ष भरत खड्काले ५ हजार, उपाध्यक्ष पर्शुराम थापाले ३ हजार, उपाध्यक्ष गंगा राईले २ हजार, सचिव विश्वराज तामाङले ५ हजार, सदस्य सन्तोष कार्कीले २ हजार पाँच सय उपलब्ध गराएका छन् । त्यसैगरी पत्रकार कटारीका राजु मगरले ५ हजार, पत्रकार अमित तामाङले ५ हजार, एमालेका युवा नेता समाजसेवी सुनिल लामाले ५ हजार सहयोग प्रदान गरेका छन् ।
यसैबीच, महासंघ शाखाले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण थालेको छ । माक्स, सेनिटाईजर, फेस शिल्ड, ग्लोभ्स लगायतका सामाग्रीहरु वितरण थालेको हो ।
पत्रकार महासंघलाई केहि दिनअघि त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रमेश विश्वकर्मा सहितका स्थानिय व्यवसायीहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो । यता त्यसैगरी स्थानिय व्यवसायी जीवन निरौला, युवा स्वरोजगार समुहले पनि स्वास्थ्य सामाग्री पत्रकार महासंघलाई उपलब्ध गराएको थियो ।
४
त्रियुगा नगरपालिका १३ नं वडाले कोरोना बाट मृत्यु भएको परिवारलाई आर्थिक सहयोग र स्वास्थ्य सामाग्री वितरण गरेको छ । वडाले कृया खर्च बापतको आर्थिक सहयोग र स्वास्थ्य सामाग्री बितरण गरेको हो । कामको शिलशिलामा भैरवाको जगदम्वा सिमेन्टमा कार्यरत त्रिनपा १३ का ३६ कर्षिय राजु खड्काको बुटवल हस्पिटलमा कोरोना संक्रमण बाट मृत्यु भएको परिवारले जनाएको छ । उनको बैशाख २७ गते बुटवल हस्पिटलमा मृत्यु भएको थियो । मृतक परिवारलाई कृया खर्च बापत ५ हजार नगद सहित स्वास्थ्य समाग्रीहरु सेनिटाईजर, मास्क र फलफुल वितरण गरिएको वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।
चौधरीले वडा भित्र मृत्यु भएको जति पनि संक्रमितहरु छन् उनिहरु सबैलाई कृया खर्च, स्वास्थ्य सामाग्री र फलफुल वितरणको कार्यक्रम वडाले गर्ने बताउनुभयो ।
चौधरीले यसको बारेमा वडामा रहेको सबै टोल विकास संस्थाहरुको अध्यक्ष लाई जानकारी गराएको बताउनुभयो । आफ्नो वडामा रहेको मृतक परिवार र संक्रमित परिवारहरु पत्ता लागेको खण्डमा वडाले मृतक परिवारलाई कृया खर्च र स्वास्थ्य सामाग्री उपलब्ध गराउने र संक्रमित परिवारलाई स्वास्थ्य सामाग्री र फलफुलको व्यवस्था गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।
मृतककी आमा मनमाया खड्काले कोरोना बाट छोरा गुमाएकोमा दुख व्यक्त गरिन् । माहामारीको वेला छोराको मृत्युलाई सहजले नियाल्न नपाएकोमा निकै दुखित रहेको बताईन् । पुष १ गते घरबाट हिडेका छोरा १ पटक घरमा आएका थिए, त्यसपछि घर नफर्किएका छोरा कोरोनाले मरेको भन्दा हो की होईना जस्तो लाग्छ उनीले भनिन् ।पिडाको वेला वडाले गरेको सहयोगलाई खड्काले धन्यवाद व्यक्त गरिन् । माहामारीको बेला सबैको यस्तै हाल भईरहेको बेला आफ्नो परिवारमा पनि दुखद घट्ना घटेको अवस्थामा वडाले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरिन् । यो बेला सहजले कुनै पनि काम कर्तव्य गर्न नसकिरहेको अवस्थामा पनि वडाले घरमै आएर कृया खर्च र स्वास्थ्य सामाग्री वितरण गर्दा आफुलाई राहत मिलेको खड्काले बताईन् ।
वडाअध्यक्ष चौधरीले पिसिआरको रिपोर्ट भएमा नगरपालिका बाट पनि १० हजार आर्थिक सहयोगको व्यवस्था रहेको सुझाईन्
५
त्रियुगा नगरपालिकाको वडा नं. १६ले कोरोना संक्रमितहरुलाई आज अति आवश्यक स्वास्थ्य सामग्रीका साथै औषधी घरघरमै उपलब्ध गराएको छ । होम आइसुलेशनमा बसेका उनीहरुलाई घरघरमै पुगेर स्थानीय स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो । वडालाई छिट्टै कोरोना मुक्त बनाउने लक्षका साथ लागी परेको उहाँले बताउनुभयो । वडामा ३० जनालाई संक्रमित छन् ।
यसैबीच, १६ नम्बर वडाको पूर्वी क्षेत्र बेल्दोभान, तीनतले, जाँते लगायतका गाउँमा विरामीको संख्या घट्दो रहेको खबर छ । वडाले बेलैमा स्वास्थ्य उपचारमा ध्यान पुर्याए पछि उनीहरुको स्वास्थ्यमा सुधार भएको हो । त्यसक्षेत्रका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था पनि सुधारमा रहेको वडाध्यक्ष राईले बताउनुभयो । वडाको ३० जना संक्रमित मध्ये कसैलाई पनि स्वास्थ्य संस्थामा लैजानु नपरेको होम आइसोलेशनमै सुधार भइरहेको उहाँले बताउनुभयो । वडाले बेलैमा परिक्षण गरी संक्रमित पत्ता लगाई घरघरमै औषधि र स्वास्थ्य सामग्री पुर्याउने काममा प्रभावकारीता देखाएको छ ।
६
समाजसेवी गन्जु शेर्पाले लिम्चुङबुङ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोनाबाट लिम्चुङबुङबासीलाई बचाउने महान कार्यमा सहयोग पुर्याउन शेर्पाले आप्mनो तर्फबाट चारथान पिपिइ सेट सहयोग प्रदान गर्नु भएको हो । सहयोगीप्रति पालिका अध्यक्ष मेजरकुमार राईले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
यो संकटको घडीमा उहाँले जस्तै सहयोगमा जुट्न सबैसंग पालिका प्रमुख राईले आव्हान पनि गर्नुभएको छ ।
७
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । २३ हजार २२६ जनामा परिक्षण गर्दा यतिको संख्यामा संक्रमित पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ४ लाख ९६ हजार ५२ पुगेको छ । जसमा ६ हजार २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७७ जनाको मृत्यु संख्या थपिएको हो । निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८९० जना निको भएका हुन् । हाल नेपालमा सक्रिय संक्रमित १ लाख १६ हजार १९२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएको छ ।
८
विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ५८ लाख ६६ हजार ५६८ पुगेको छ । मृत्यु हुनेको संख्या ३४ लाख ४५ हजार १९९ पुगेको छ । विश्वमा कोरोना जितेर निको हुनेको संख्या १४ करोड ६५ लाख ७१ हजार ७४८ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड, ५८ लाख ४९ हजार ६२१ रहेका छन् ।
