
कात्तिक २ गते ।
अर्घाखाँचीमा बोरामा एक किलो चामल घटाएर उपभोक्ता ठग्ने एक व्यापारीलाई दुई लाख जरिवाना गराएको छ । सन्धिखर्क नगरपालिकाले बजार अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको पाएपछि सञ्जयकुमार कलवारलाई जरिवाना गराएको हो ।
सन्धिखर्क–२ चुत्रबेसीको शिवा किराना तथा भण्डारका सञ्चालक कपिलवस्तुका कलवारले २५ किलो र ३० किलोका चामलको बोरामा १ किलो घटाएर बेचेको गुनासो आएपछि नगरपालिकाले अनुगमन गरेको थियो । अनुगमन टोलीले व्यापारी कलवारले उपभोक्तालाई ठगेको पाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाख पाँच सय जरिबाना तिराएको पालिकाले जनाएको छ ।
कलवारले सन्धिखर्कका विभिन्न पसलहरुमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा १ किलो घटाएर चार सय पच्चीस बोरा चामल बेचेको स्वीकार गरेपछि उनलाई कारबाही गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।
