
पूर्णपुष्टि, भदौ २३
चितवन राष्ट्रिय निकुञ्जमा करिब चार बर्षपछि पहिलो पटक गोली लागेको अवस्थामा दुर्लभ सिंगे गैंडा मृत भेटिएको छ ।
निकुञ्जको रातोपानी घोल भन्ने ठाउँमा टाउकोमा दुई गोली लागेको अवस्थामा गैंडा मृत भेटिएको निकुञ्जले जनाएको छ । गैंडा घोलमा डुबेको अवस्थामा भेटिएको जनाएको छ ।
निकुञ्जको गस्ती टोलीले भदौ २१ गते मरेको अवस्थामा गैंडा भेटेको थियो । गैंडा ५÷७ दिन अगाडि मारेको हुनसक्ने निकुञ्जको अनुमान छ । गैंडाको पोष्टमार्टम गर्दा टाउकोमा गोली नभेटिएको निकुञ्जले जनाएको छ ।
मृत गैंडाको खाग र खुर भने सुरक्षित छ । निकुञ्जमा २०७३ साल यता कुनै पनि गैंडा तस्करहरूले मार्न सकेका थिएनन् । लकडाउन र निषेधाज्ञा लागेका बेला निकुञ्जमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ ।
चालू आर्थिक बर्षमा यो सहित चार गैंडा मृत भेटिएका छन् । तीन वटा कालगतिले मरेका थिए । गत आर्थिक वर्ष प्राकृतिक कारणले २६ गैंडा मरेका थिए ।

