Friday, July 17News That Matters

चिसाेमा बृद्धबृद्धाहरुको स्वास्थ्य चुनौतीलाई मध्येनजर गर्दै १३ नं. वडामा स्वास्थ्य शिविर

पूर्णपुष्टि, माघ ३ । 

वडावासीको स्वास्थ्य परिक्षणको उद्देश्यले त्रियुगा नगरपालिका, १३ नम्बर वडा कार्यालयमा आज स्वास्थ्य शिविरको आयोजना भएको छ । वडा कार्यालयको सहयोग तथा जेसिज उदयपुरको आयोजना र त्रियुगा मेडिकल हल तथा सेभ लाईभ हेल्थ केयर प्रालिको समन्वयमा शिविर भएको हो ।

वडाध्यक्ष पशुपति चौधरीले उद्घाटन गर्नुभएको शिविरमा ओपिडि अन्तर्गतका सम्पूर्ण सेवा, भिडियो एक्सरे, सुगर परिक्षण र औषधि वितरण सेवा रहेका छन् । सम्पूर्ण सेवाहरु निःशुल्क छन् ।

वडाध्यक्ष चौधरीका अनुसार शिविर जेष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको हो । सबैभन्दा जेष्ठ नागरिकबाट परिक्षण सुरु गरिएको शिविर दिनभर रहनेछ । वडाभरिका महिला, बालबालिका र बृद्धबृद्धाहरु शिविरमा स्वास्थ्य परिक्षण तथा सेवा पाउन आएको अध्यक्ष चौधरीले बताउनुभयो । खासगरी अहिलेको चिसो मौसममा बृद्धबृद्धाहरु र बालबालिकालाई स्वास्थ्य चुनौती थपिने कुरालाई मध्येनजर गर्दै स्वस्थ्य शिविर राखिएको उहाँले बताउनुभयो । शिविरको सुरुवातमै दुईसय जनाको हाराहारीमा नगरबासीको उपस्थिति रहेको थियो । शिविरमा डा. सम्भुप्रसाद साहको नेतृत्वको स्वास्थ्यकर्मीटोली खटिएका छन् । शिविरबाट वडाबासी लाभान्वित हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

जेसिज उदयपुर २०२१ का अध्यक्ष सर्मिला थापा (सबु) ले सदरमुकाम नजिकैको वडा भएपनि बृद्धबृद्धाहरुलाई अस्पतालसम्म आउन समस्या रहेको र गाउँघरमा स्वास्थ्य संस्था भन्दा धामीझाक्रीमा विश्वास गर्ने परिपाटिसमेत रहेको अवस्थालाई मध्येनजर गर्दै शिविर मार्फत स्वास्थ्य परिक्षणको वातावरण मिलाइएको बताउनुभयो । जेसिज समाजभित्रकै एउटा अंग भएकोले सामाजिक काममा अग्रसरता जनाउदै वडाको सहयोगमा शिविर आयोजना गरिएको थापाले बताउनुभयो । कुनै पनि स्वास्थ्य समस्या पर्दा स्वास्थ्य संस्थामै गएर परिक्षण गराउने र स्वास्थ्य सेवा लिनुपर्छ भन्ने सन्देश जगाउने उद्देश्यसमेत शिविरको रहेको उहाँले बताउनुभयो ।

जेसिजकी कार्यकारीणी उपाध्यक्ष संगिता घिमिरेको संयोजकत्वमा औपचारिकरुपबाटै  शिविरको उद्घाटन् भएको थियो । कार्यक्रमको उद्घाटन समारोहको सञ्चालन जेसि मिथुन ठाकुरले गर्नुभएको थियो ।

अन्य तस्विरहरू :