
पूर्णपुष्टि, असार १०
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले आज लद्दाखको भ्रमण गरेको छ । सेनाध्यक्षले गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तको सामना गर्ने सैनिकलाई प्रशंसा पत्रले सम्मान गरेको जनाईएको छ ।
सेनाध्यक्षको भ्रमणलाई लिएर विज्ञप्ति जारी गर्दै भारतीय सेनाले भनेको छ, ‘सेनाध्यक्ष एमएम नरभानेले पूर्वी लद्दाखको फरवार्ड इलाकाको भ्रमण र सीमा क्षेत्रमा भइरहेको तयारीको बारेमा जानकारी लिए । उनले जवानको मनोबल बढाए र उनीहरुको योगदानको प्रशंसा पनि गरे ।’
उक्त क्षेत्रमा गत हप्ता चीनको पिपुल्स लिबरेशन आर्मीसँगको हिंसक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।
सेनाध्यक्षले हिजो गलवान सङ्घर्षमा घाइते भएका सैनिकसँग भेट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
