
पूर्णपुष्टि, फागुन २८
नेकपा एमालेले आगामी चैत १ गते केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ । चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ ।
आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिने जनाएको छ । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले जनाएको छ । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।
केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।
केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा छन् ।
