Thursday, April 30News That Matters

चोरीको आरोपमा दुई जना पक्राउ

पूर्णपुष्टि, असार १८

सुनसरीको ईटहरी उप–महानगरपालिका एरियाका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप–महानगरपालिका–३ का २९ वर्षीय सुमन तामाङ र धरान उप–महानगरपालिका–१९ का २४ वर्षीय सुरज परियार रहेका छन् ।

तामाङ  ईटहरी–३ का अनन्त प्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मूल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । जेष्ठ १२ गते बिहान अन्दाजी ६ बजेको समयमा पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगद समेत बरामद भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यसैगरी, ईटहरी–६ मा रहेको कुलनयन ट्रेडसबाट नाईट्रोजन ग्यास सिलिण्डर चोरी गर्ने सुरज परियारलाई मोरङको सुन्दरहरैचा–३ बाट चोरी भएको नाईट्रोजन ग्यास सिलिण्डरसहित प्रहरीले पक्राउ गरेको हो ।

चोरीको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।