Tuesday, September 29News That Matters

यात्रुसँग तेब्बर भाडा असुली गर्ने ८ जना पक्राउ

पूर्णपुष्टि, असार १८

सवारी साधनमा यात्रा गर्ने यात्रुसँग तेब्बर भाडा असुली गर्ने आठ जनालाई ट्राफिक प्रहरीले काठमाण्डौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । तीन गुणा बढीसम्म भाडा लिइ यात्रुलाई ठगी गर्ने टिकट काउन्टरका कर्मचारीदेखि निजी गाडीका चालकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाका पुण्यप्रसाद गिरी, गोर्खाका सन्तबहादुर कुमाल, इलामका खेमबहादुर पाँचकोटी, भक्तपुर बस्ने राजीव हिङ्गजु, झापाका सञ्जय खड्का, कञ्चनपुरका अम्मर ऐर, भक्तपुरका श्याम मछ्या र धनकुटाका हरेन्द्र बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारबाट आएका र उपत्यका भित्रिने र बाहिरिने धेरै यात्रु निजी तथा सार्वजनिक गाडीबाट ठगीमा परेको गुनासोपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिएको हो । काठमाण्डौ भित्रिन र बाहिरिन सार्वजनिक गाडीले अनुमति नपाए पनि कार, जीप, भ्यान लगायतका निजी गाडीले चर्को भाडामा यात्रु ओसारिरहेका छन् ।

निषेधाज्ञा खुकुलो हुन थालेसँगै यात्रु ठगिन सक्ने र समस्यामा पर्न सक्ने कुरालाई मध्यनजर गर्दै ट्राफिकले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रूपमा बुझ्ने, निगरानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्ने गरेको महाशाखा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताउनुभयो ।