
पूर्णपुष्टि, असार १८
नालाको पानी महोत्तरी गौशाला नगरपालिका–६ फुल्काहाको श्री माध्यमिक विद्यालय भेडियाको कक्षाकोठाभित्र पस्दा लाखौँको क्षति भएको छ । गतरातिको भिषण वर्षातका कारण नालामा पानीको वहाव बढेर विद्यालयको कक्षाकोठाभित्र पानी पस्दा पाँच लाख मूल्य बराबरको शैक्षिक सामग्री भिजेर नष्ट भएको हो ।
विद्यालयको कोठाभित्र पानी पस्दा ८ वटा कम्प्युटर बिग्रिएको छ, भने मोनिटर, प्रोजेक्टर, फोटोकापी मेसिनमा क्षति पुगेको विद्यालयका पधानाध्यापक शैलेन्द्र ठाकुरले बताए । बालविकासको कक्षाकोठाभित्र नालाको पानी पस्दा चकटी, कार्पेट, खेल सामग्री लगायतका शैक्षिक सामग्रीमा क्षति पुगेको प्रधानाध्यापक ठाकुरले जानकारी दिए ।
घटनाको सम्बन्धमा वडा कार्यालय, नगरपालिकाको कार्यालय र विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराइ सकेको ठाकुरले बताए ।
नालाकै कारण वर्षेनि विद्यालयमा क्षति हुने गरेकाले नालाको उचित निकासको लागि आफूले चाँडै नै पहल गरिने वडाअध्यक्ष नथुनी राउतले बताए । चाँडै नै वडा कार्यालयले विद्यालय लगायतका आसपासका क्षेत्रमा रहेको सहायक सडकहरुलाई समेत व्यवस्थित गरिने वडाअध्यक्ष राउतले जनाएको छ ।
