Wednesday, June 17News That Matters

चौदण्डीगढी नगरपालिकाबाटै अनलाईन श्रमस्विकृती सेवा

पूर्णपुष्टि,वैशाख २६ । उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट वैदेशिक रोजगारमा जाने नेपालीहरुको लागि श्रमस्विकृती सेवा सुरु गरेको छ । सरकारले मुलुकका ७ सय ५३ वटै पालिकाहरुबाटै श्रमस्विकृती सेवा थाले पछि सोमबार देखि जिल्लाको चौदण्डीगढी नगरपालिकाबाटै अनलाईन सेवा सुरु गरेको हो ।

नगरमा यस्तो सेवा आए लगतै चौदण्डीगढीका तीनजनालाई नगर प्रमुख कालुमान लामा र उप–प्रमुख मणिकादेवी दुलालले पहिलो पटक श्रमस्विकृती प्रदान गरेका नगरका रोजगार संयोजक अर्जुन बस्नेतले बताए । गत २०७९ साल चैत्र १६ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार वैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित, भरपर्दो, पारदर्शी, व्यवस्थित तथा सहज बनाउने साथै सेवा ग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उद्धेश्य अनुरुप स्थानीय तहबाटै सेवा प्रवाह हुँदा बढि फलदायी देखिएकाले र सोहि अनुरुप स्थानीय तहबाट वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्याउने र बैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्विकृति र पूनः श्रम स्विकृतिका लागि आवेदन गर्ने कार्य सुरु गरिएको हो ।

अब नगर क्षेत्र भित्रका जोकोहीले पनि वैदेशिक रोजगारीमा जानका लागि आवश्यक श्रम स्विकृति नगरपालिकाबाटनै लिन पाउने भएकोले नगर भित्रका सम्पूर्ण बैदेशिक रोजगारमा रहनु हुनेले नगर बाटै श्रम स्विकृति लिन नगर प्रमुख कालुमान लामाले आग्रह समेत गर्नु भएको छ । उनले चौदण्डीगढी नगरपालिका युवाहरुलाई स्वरोजगारमै आबद्ध गराउन आफु लागि परेको समेत बताए ।

वैदेशिक यात्राकोलागि श्रमस्विकृति गर्नको लागि धेरै जसो राजधानी धाउँने झनझटबाट मुख्क्त भएको भन्दै स्थानिय स्तरबाटै श्रमस्विकृति पाउँने व्यवस्था आएपछि बैदेशिक रोजगरमा जानेहरुमा भने खुशीयाली छाएको छ।