Saturday, June 6News That Matters

चौनपाको यायोक्खा भवन बजेट अभावमा अलपत्र

पूर्णपुष्टि, जेठ ३१ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा किरात राई समुदायको यायोक्खा साँझा भवन अलपत्र परेको छ । चौदण्डीगढी वडा नं. ७ साकेला परिसरभित्र निर्माणधिन भवन बजेट अभावमा अलपत्र परेको हो ।

चौदण्डीण्ढीका पूर्व नगर प्रमुख खगेन्द्र राईले आर्थिक बर्ष २०७८–०७९ मा रु. ५ लाख बजेट विनियोजन गरिदिएपछि भवन निर्माण कार्य सुरु भएको थियो । ४६ मिटर लम्वाई र ३६ मिटर चौडाइमा बन्न लागेको ६ कोठे पक्की भवन अहिले बजेट अभाव भएपछि अलपत्र परेको हो ।

किरात राई यायोक्खाका अध्यक्ष शशिचन्द्र राईले गत वर्ष प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराएपछि ईटा जोड्ने कामसम्म भएको बताएका छन् । साँझा भवन भएकोले बजेट व्यवस्थापनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने उनको भनाइ छ । पूर्व किराया अध्यक्ष अञ्जना राईको पहलमा भवन निर्माण कार्य सुरु भएको थियो ।

उक्त भवनको लागि प्रदेशसभा सदस्य राजन किराती ‘वासु’ले बजेट माग गरेका छन् । ‘के कति हुन्छ, मैले मागपत्र पेश गरेको छु ‘उनले भने’ क्रमागतरुपमा बजेट व्यवस्थापन हुनेछ ।’ उक्त परिसरभित्र बन्न लागेको भनव किरात राई समुदायहरुको सामुहिक साँझा थलो हो । करिव अढाइ विघा क्षेत्रफल भएको परिसरभित्र किरात राई समुदायको सामुहिक साकेला थानसमेत निर्माण भइसकेको छ भने जग्गा व्यवस्थापनमा तत्कालिन स्व. कृष्ण चाम्लिङ, क्य. रामबहादुर राई, पारुहाङ एकेडेमीका प्रिन्सिपल छविन्द्र राई, सुविदार हरिकुमार राई, अर्जुन राई लगायतको महत्वपूर्ण योगदान रहेको छ ।