
पूर्णपुष्टि, मंसिर १८
धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गएको बैशाख २ गते असिनाबाट तरकारी तथा बालीनाली क्षति भएका किसानहरुलाई राहत दिएका छन् । अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग तथा यन्त्र हस्तान्तरण गरेको हो । पालिकाले ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हिजो एक संयुक्त कार्यक्रमको आयोजना गरेर ६७ किसानहरुलाई नगद राहत प्रदान गरेको हो । २८ अपाङ्गता भएकाहरुलाई नगद र यन्त्र सहयोग गरेको हो ।
पालिकाले तरकारी खेतीतर्फ पूर्ण क्षति भएका २२, आंशिक २०, सामान्य २३ र धान बाली क्षतितर्फ २ परिवारलाई राहत दिएको हो । पूर्ण क्षति भएका किसानलाई नगद १५ हजार, आंशिकलाई १० हजार, सामान्यलाई ५ हजार र धान बाली क्षति भएका १,१ परिवारलाई क्रमशः ५ हजार र ७ हजार ५ सय रुपैयाँका दरले गरी ६ लाख ४२ हजार ५ सय रकम बराबरको राहत वितरण गरेको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँको अनुसार ६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई श्रवण यन्त्र र १२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
