
पूर्णपुष्टि, जेठ २४ गते ।
आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा लमजुङको राइनासबाट एकजना पुरुष पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय लमजङका निमित्त प्रहरी प्रमुख एवम् सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार बालिका आफै प्रहरी कार्यालय आएर उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरेको हो ।
आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको रेग्मीले बताए ।
प्रहरीका अनुसार ४५ वर्षीय बाबुले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जबर्जस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनावका बेला र चुनावपछि समेत गरी आफूलाई दुईपटक करणी गरेको पीडितले बयान दिएकी छन् ।
प्रारम्भिक बयानकै क्रममा उनले दुईपटकसम्म करणी गरेको स्वीकार गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।
