
पूर्णपुष्टि, चैत २७ गते ।
जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा पड्केर स्थानीय एक जना घाइते भएको छ । काभ्रेको बनेपा नगरपालिका–२ मा बिष्फोटक पदार्थ बिस्फोट हुँदा स्थानीय मोहन विक घाइते भएको हो ।
नेपाली सेनाले फायरिङ अभ्यास गर्ने जंगलबाट विकले उक्त बस्तु ल्याएको अनुमान गरिएको छ । बिस्फोटक पदार्थ पड्केर विकको अनुहार र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
सेनाले तालिमका क्रममा हतियारहरू पड्काउने र प्रहार गर्ने गर्छ । तालिमका बेला मिस्ड फायर भएका बिस्फोटक पदार्थहरू सेनाले जंगलमा पुर्ने गरेको थियो । सोही बस्तु टिपेर घरमा ल्याएर आगोमा हाल्दा पड्केको अनुमान प्रहरीको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ ।
