
पूर्णपुष्टि, जेष्ठ ९
राल्पाको जंगलमा २५ म्याग्जिन र ९ सय ७० राउन्ड गोली बरामत भएको छ । शनिबार त्रिवेणी गाउँपालिका–२ रामपुर गाउँ नजिकैको एक सामुदायिक वनको बाँस घारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा ती गोली फेला परेको हो ।
एसएमजीमा प्रयोग हुने म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान गरी २५ थान म्याग्जिन बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
एके ४७ मा प्रयोग हुने गोली ७ सय ५२ थान, ७.६२ मिमि हतियारको गोली २ सय ८ थान र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
स्थानीयको सुराकीको आधारमा प्रहरी त्यहाँ पुगेर हेर्दा ठूलो मात्रामा गोली बरामद भएको र गोली बरामद भएको क्षेत्रमा थप हुन सक्ने आशंकामा खोजी भइरहेको प्रहरीले बताएको छ ।
केही समयअघि त्रिवेणी रामपुर गाउँ क्षेत्र र आसपासको जंगलामा ठूलो आगजनी भएको हुँदा घरभित्र लुकाएर राखिएका गोली सुरक्षाको लागि जंगल र बाँस घारीमा लुकाएर राखिएको हुन सक्ने प्रहरीले बताएको छ ।
उक्त क्षेत्रमा नेपाली सेनाको बटुक दल गणको दहवनस्थित गुल्मको टोलीले थप खोज तथा अनुसन्धान जारी राखेको प्रहरीले जानकारी दिएको छ ।
