
संखुवासभा, बैशाख २६ गते ।
जंगली च्याउ खाएर बिरामी भएकी संखुवासभाको सभापोखरीकी एक महिलाको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका–२ की २४ बर्षीया मनिला राईको उपचारको क्रममा मृत्यु भएको हो ।
गत २० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि दुई घर परिवारका ६ जना बिरामी भएको थियो । उनीहरुको उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएको थियो ।
उपचार गराई अस्पतालबाट डिस्चार्ज भएर घर गएका मध्ये मृतक मनिला र २४ बर्षीया अनिता राईलाई पुन श्वास प्रश्वासमा समस्या देखिएपछी उपचारको लागी जिल्ला अस्पताल लगिएको थियो ।
अस्पतालबाट थप उचारको लागी मनिलालाई बिराटनगरको नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
