
पूर्णपुष्टि, कार्तिक ३०
राष्ट्रिय जनगणना २०७८ सुरु भएको आज छैठौ दिनमा आईपुग्दा गणना गर्ने क्रममा गणकहरुले मनपरी प्रश्न सोधेको भन्दै आदिवासी जनजाति संगठनहरुले ध्यानार्कषण गराएका छन् । आज बिहान साढे १० बजे तथ्याङ्क विभागको कार्यालयमा आदिवासीजन्य संगठनहरूले ध्यानाकर्षण गराउँदै आपत्ति जनाएका हुन् ।
जात÷जाति, पूर्खाको भाषा, मातृभाषा, दोश्रो भाषा र धर्मसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको उत्तरहरू गणकहरू आफैले भरिदिएको जानकारी आएकोले आपत्ति जनाउँदै आदिवासी जनजाति संगठनले महानिर्देशकलाई त्यसो नगर्न निर्देशन दिन आग्रह गरेका छन् ।
विभागको महानिर्देशक नेबिनलाल श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ तथा लिम्बू, तामाङ, नेवार, मगर, गुरूङ, शेर्पा, थामीलगायतका अध्यक्ष तथा पदाधिकारीहरूले गणना भइरहेको त्रुटि र असंवेदनशीलताबारे छैठौ दिनमा ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले गणना भइरहेको समयमा विभिन्न तवरले खबरदारी र सहयोग गरिरहँदा पनि तथ्यांक विभाग र यसका संयन्त्रहरूले प्रश्नावलीमा हेलचेक्र्याइँ गरेकाले सच्याउन आग्रह गरेका छन् ।
यता, महानिर्देशक नेबिनलाल श्रेष्ठले भने गणकले मनपरी र व्यक्तिगत प्रश्न सोध्न नमिल्ने भन्दै उनीहरूले त्यसो गरे कार्बाही हुने बताए । तालिमका क्रममा गणकहरूलाई के–के सोध्न मिल्ने र के–के नमिल्ने भनेर तालिम दिइएको उनले प्रष्ट पारे ।
