
पूर्णपुष्टि, बैशाख ९ गते ।
आफ्नो नागरिकको रोजगारी जोगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने घोषणा गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका हुन् ।
ट्रम्पले ट्विट मार्फत कोरोना भाइरसको महामारीले अमेरिकी नागरिकको रोजगारी नगुमोस् भन्नका खातिर अस्थायी आप्रबासी रोक्ने निर्णय लिइएको उल्लेख गरेका छन् ।
तर आप्रवासी कति समयका लागि रोक्ने र कस्तो कदम चाल्दै छ भन्नेबारे केही खुलाएका छैनन् । आप्रवासी कामदारमाथि लगाउन लागिएको आंशिक प्रतिबन्ध कस्ता–कस्ता मानिसहरू प्रभावित हुन्छन् भन्नेबारे पनि प्रष्ट पारिएको छैन ।
कोरोना प्रकोप न्यूनीकरण गर्न अमेरिकाले युरोपका धेरैजसो देशसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध गलाएको छ ।
अमेरिकाले क्यानडाबीच मेको मध्यसम्मै सीमा नाका कडा पार्ने सहमति पनि भएको छ ।
