Sunday, May 17News That Matters

जन्मजात आँखा देख्न नसकिरहेका एक बालको मोतिविन्दु शल्यक्रिया पछि ज्योति फर्कियो

पूर्णपुष्टि, साउन ५

मोतिविन्दुको शल्यक्रियाले बिरगन्जका १० बर्षिय एक बालकले आँखा देख्न थालेको छ । जन्मजातमै आँखा बन्द भएको पर्साको पर्सागढी नगरपालिकाका–६ का १० वर्षीय उज्वलकुमार रायको गुमेको आँखाको ज्योति फर्किएको छ । उनले सानैदेखि देब्रे आँखा देख्दैनथे । कमजोर आर्थिक अवस्थाका कारण परिवारले राम्रोसँग उपचार गराउन सकिरहेका थिएनन् । समय–समयमा अभिभावकले वीरगञ्जका विभिन्न अस्पतालमा आँखा जाँच गराउने गरे पनि समस्या यथावत् थियो ।

वरिष्ठ नेत्र सर्जन डा. अमृत आचार्यको टोलीले सानो चिरा मोतीबिन्दु शल्य चिकित्सा (एमएसआईसिएस) विधिबाट शल्यक्रिया गरेर उनको आँखाको ज्योति फर्काइदिएका छन् । असार २२ गते गरिएको शल्यक्रियापछि अब उनी दुवै आँखा राम्रोसँग देख्न सक्ने भएका छन् ।

छोराकोे एउटा आँखाले देख्न नसक्ने कुरा आफुहरुलाई पाँच वर्षको उमेरमा मात्रै थाहा भएको बाबु रामनारायाणले बताए । ‘जन्मजात नै समस्या रहेछ, हुर्किंदै गयो तर उसले नै आँखाको समस्याबारे भेउ पाएको थिएन,’  रामनारायणले भने, ‘हामीले पनि थाहा पाएनौं, पाँच वर्षको भएपछि उसैले देब्रे आँखाले नदेख्ने गरेको बतायो, त्यसपछि बल्ल हामीले थाहा पाएका हौं ।’

आँखाको ज्योति फर्किएपछि देब्रे आँखाले ठ्याम्मै नदेख्ने उज्ज्वल र उनका अभिभावक अहिले एकदमै खुशी भएका छन् । फलोअपका लागि वीरगञ्ज आएका उज्ज्वलले राम्ररी पढेर आँखाकै डाक्टर बन्ने सपना आफ्नो रहेको सुनाए । ‘दुवै आँखाले देख्न सक्छु, अब झनै मेहनत गरेर पढ्छु र आ“खाकै डाक्टर बन्छु,’ उज्वलले भने ।