Friday, June 26News That Matters

जपान र हङकङ चार्टड गर्दा अनियमिता भएको छानविन गर्न छानविन समिति गठन

पूर्णपुष्टि, जेठ २८ गते । 

नेपाल एअरलाइन्सले जापान र हङकङमा गरेको चार्टर्ड उडानमा व्यापक अनियमितता भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । एयरलाइन्सको जहाज हङकङ र जापानको लागि चार्टर्ड गर्दा ट्राभल एजेन्सीहरुले यात्रुबाट अस्वाभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको गुनासो आएको भन्दै मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

यस विषयमा जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के आधारमा के कति भाडा लिएको भन्ने सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजक रहेको समितिमा मन्त्रालयका उपसचिव राजन नेपाल, पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य रहेका छन् ।

अब जहाज चार्टर्ड गर्न यात्रुको नामावली र भाडादर स्पष्ट खुलाउनुपर्ने भएको छ । चार्टर्ड जहाजमा कमिशनको खेल भएको र यात्रुलाई मर्कामा पारिएको गुनासोपछि मन्त्रालयले यसबारेमा मापदण्ड बनाएको छ ।

मन्त्रालयका अनुसार आउँदा दिनमा विमान चार्टर्ड गर्दा जुन देशको लागि चार्टर्ड गर्न लागिएको हो, यस देशको सम्बन्धित कूटनीतिक नियोगबाट यात्रुहरुको नामावलीसहितको पूर्व स्विकृति र यात्रुसँग लिने भाडा रकम समेत खुलाएर मात्र चार्टर्ड उडानको लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिनुपर्नेछ ।

भाडादर नखुलेको अवस्थामा र चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य देशमा बुझाउनु पर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्टर्ड उडान अनुमति प्रदान गरिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।