
पूर्णपुष्टि, भदौ, ३
उदयपुरको यातायात कार्यालय त्रियुगा नगरपालिका–६ जलजलेमा बन्ने भएको छ । प्रदेश एकका यातायात तथा संञ्चार मन्त्री उपेन्द्र घिमिरे र भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीले स्थलगत निरिक्षण गरेसँगै यातायात कार्यालय जलजलेमा रहने टुङ्गो लागेको हो । प्रदेश सरकारले उदयपुरमा यातायात कार्यालय बनाउन ५० लाख विनियोजन गरिसकेको छ ।
त्रियुगा नगरपालिका–६ को वडा कार्यालय रहेको जग्गामै यातायात कार्यालयको भवन बन्ने भएको छ । वडा कार्यालयले यातायात कार्यालयलाई भोगाधिकार दिनेगरी निर्णय गरिसकेको छ ।
स्थलगत निरिक्षण पछि यातायात मन्त्री घिमिरेले ४÷५ दिनभित्र मन्त्रीपरिषदबाट भवन बनाउने निर्णय गरी काम शुरु गर्ने प्रतिबद्धता जनाएका थिए । उनले चुनाव अघि नै यातायातको भवन जलजलेमा बनिसक्ने गरी काम हुने आश्वासन स्थानियलाई दिएका थिए । जलजलेका युवाहरुले यातायात कार्यालय त्रियुगा ६ मा हुनुपर्ने भन्दै अभियान चलाउदै आएका थिए ।
