
पूर्णपुष्टि, जेष्ठ २७ । सर्लाहिमा जलाउँदै गरेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमति इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो ।
श्रीमानकै कुटपिटबाट महिलाको मृत्यु भएको प्रहरीको आशंका छ । श्रीमतिलाई मरणासन्न हुनेगरी कुटपिटपछि राजाराम फरार भएकाले पनि प्रहरीले घटनाबारे अनुसन्धान गरेको जनाएको छ । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन सहयोग गरेको भन्दै प्रहरीले शव सहित ६ जना मलामीलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
गत सोमबार राजारामले घरायसी विवादका कारण मरणासन्न हुने गरी कुटपिट गर्दा इन्द्रकला सख्त घाईते भएकी थिईन् । घाईते भएकी उनलाई छोरीले उपचारका लागि नवलपुरस्थित एक निजी अस्पतालमा लगे पनि उनको अवस्था देखेर चिकित्सकले वीरगन्ज रेफर गरेका थिए । मंगलबार वीरगन्जबाट फिर्ता ल्याई घरमा राखेपछि बुधबार अवस्था झन खराब भएकी इन्द्रकलालाई छोरीले जनकपुर अस्पतालमा पुर्याएकी थिइन् भने उनको शनिबार बिहान मृत्यु भएको हो ।
इन्द्रकलाको मृत्युपछि कसैलाई खबर नै नगरी स्थानीयहरूले लखन्देही खोलामा दाहसंस्कार गर्न थालेको खबर पाएपछि इलाका प्रहरी कार्यालय हरिपुरले जल्दै गरेको शव नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । फरार रहेको श्रीमान राजारामको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
