Friday, April 17News That Matters

जेनजी आन्दोलन अघि नै नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेको प्रचण्डको दाबी

पूर्णपुष्टि÷गाईघाट, भदौ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलन सुरु हुनुभन्दा पहिले नै पार्टीमा नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेको दाबी गरेका छन् । शुक्रबार संविधान दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यो विषयमा पार्टीको केन्द्रीय समिति र स्थायी समितिमा छलफल भइसकेको बताए ।

प्रचण्डले भने, ‘अहिले जेनजी आन्दोलन भएको कारण मात्रै होइन, गएको केन्द्रीय समिति बैठकमा र केही समय पहिले हाम्रो पार्टीको स्थायी समितिको बैठकमा पनि एक निश्चित विधि अपनाएर नेतृत्व हस्तान्तरण गर्ने बारे सोच्नुपर्छ भनेर मैले नै राखेको छु ।’ उनले थप स्पष्ट पार्दै भने कि यो प्रस्ताव आफूले नै अगाडि सारेको हो र यसबारे पार्टीमा गहिरो छलफल भइरहेको छ ।

माओवादी अध्यक्षले नेतृत्व हस्तान्तरणको प्रक्रियामा पार्टीको ऐतिहासिक विरासत र गौरवलाई क्षति नपुर्याउने बताए । उनले भने, ‘एक निश्चित प्रक्रिया मार्फत हाम्रो पार्टीको ऐतिहासिक विरासत र गौरवले बनाएको मानकलाई कमजोर नपार्नेगरी हाम्रो पार्टीको एकता र केन्द्रीकरणलाई कमजोर नपार्ने गरी नेतृत्व हस्तान्तरण बारे छलफल हाम्रो पार्टीमा छ ।’

प्रचण्डले नेतृत्व हस्तान्तरणको विधि, प्रक्रिया र समयबारे कम्युनिष्ट क्रान्तिकारीहरूले गम्भीरतासाथ विचार गर्नुपर्ने बताए । उनले भने, ‘तपाईंलाई यो सुन्दा अनौठो लाग्न सक्छ, पार्टी अध्यक्षको हैसियतले यो बहस अगाडि बढाउनु पर्छ भनेर मैले स्थायी समितिमा भनिसकेको छु।’ उनले यो विषयमा पार्टीका सबै नेता कार्यकर्ताहरूले गहिरोगरी सोचविचार गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

माओवादी अध्यक्षले नेतृत्व हस्तान्तरणको प्रक्रियामा प्रतिक्रियावादी शक्तिहरूलाई फाइदा नहुने गरी अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘गलत तरिकाले आफ्नो इतिहास गौरव र विरासतलाई अपमानित हुने ढंगले प्रतिक्रियावादीहरूले फाइदा उठाउन नसक्नेगरी हामीले त्यो प्रक्रिया अगाडि बढाउनुपर्ने छ ।’

प्रचण्डले आफ्नो पार्टी नयाँ इतिहास बनाउन सक्षम भएको दाबी गरे । उनले भने, ‘फेरि पनि एक नयाँ इतिहास बनाउन सक्ने तागत र सामर्थ्य भएको पार्टी माओवादी केन्द्र नै हो। जेनजी पुस्ताको बलिदान योगदान बुझ्ने पार्टी माओवादी मात्रै हो ।’ उनले माओवादी पार्टी मात्रै नयाँ ढंगले सोच्न सक्ने क्षमता भएको दाबी गरेका छन् ।