Wednesday, April 22News That Matters

जेनजी प्रदर्शनमा ६ हजारभन्दा बढी गोली प्रहार

पूर्णपुष्टि÷गाईघाट, असोज १२ । गत भदौमा भएको जेनरेसन जेड प्रदर्शनका क्रममा प्रहरीले ६ हजार ५ सयभन्दा बढी गोली प्रहार गरेको खुलेको छ । प्रहरी प्रधान कार्यालयको आन्तरिक अध्ययन प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक भएको हो ।

प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गरेर प्रदर्शनका क्रममा प्रयोग भएका हतियार र गोलाबारुदको विस्तृत अध्ययन गरेको छ । अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मीको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङलाई पेश गरेको छ ।

प्रतिवेदन अनुसार भदौ २३ र २४ मा देशव्यापी रूपमा भएको प्रदर्शनमा प्रहरीले ४ हजार जङ्गी राउन्ड फायर गरेको छ । यसैगरी काठमाडौंको बानेश्वरसहित मुलुकभर २ हजार ५ सयभन्दा बढी रबर बुलेट प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ । भीड नियन्त्रणका लागि प्रहरीले २ हजार ५ सयभन्दा बढी ब्ल्यांक राउन्ड फायर गरेको थियो । ब्ल्यांक राउन्डले केवल आवाज मात्र निकाल्छ र कुनै भौतिक क्षति गर्दैन ।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले कुल ८ हजार सेल अश्रुग्यास प्रहार गरेको छ । काठमाडौं उपत्यकामा मात्रै ४ हजार सेल अश्रुग्यास प्रयोग गरिएको प्रहरीको आन्तरिक दस्तावेजमा खुलेको छ । उपत्यकाभित्र बानेश्वर, माइतिघर, कालिमाटी, थिमी र मालिगाउं क्षेत्रमा अश्रुग्यास प्रहार गरिएको थियो । प्रहरी प्रधान कार्यालयको सुरक्षाका लागि मात्रै १ हजार ३ सय राउन्ड अश्रुग्यास प्रयोग गरिएको देखिन्छ ।

मधेस प्रदेशमा ६ सय सेल अश्रुग्यास प्रहार गरिएको आन्तरिक रिपोर्टले देखाएको छ । अन्य प्रदेशहरूमा पनि आवश्यकताअनुसार विभिन्न प्रकारका गोलाबारुद प्रयोग गरिएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । प्रहरीका एक उच्च अधिकारीले भने कि प्रदर्शनका क्रममा आवश्यक न्यूनतम बल प्रयोग गरिएको थियो । उनले भने, ‘सार्वजनिक सम्पत्तिको सुरक्षा र कानुन व्यवस्था कायम राख्नका लागि उपयुक्त उपाय अपनाइएको थियो ।’ प्रदर्शनका क्रममा केही हतियार लुटिएको भए पनि धेरैजसो हतियार सुरक्षित रहेको समितिको निष्कर्ष छ । लुटिएका हतियारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।