Monday, April 20News That Matters

झलनाथ खनाल सहभागी कार्यक्रममा राजावादी युवाको नारावाजी, ९ जना पक्राउ

पूर्णपुष्टि, जेष्ठ १७ । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहभागी कार्यक्रममा नारवाजी गर्ने ९ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर राजाको पक्षमा भाषण गरेका थिए । भाषणका क्रममा उनले देशको भुभाग दलाल नेताहरुले बेचेको आरोप लगाए र राजा ल्याए राजाले ती भुभाग फिर्ता ल्याउने बताएका थिए । त्यसपछि उनीहरुले सामूहिक रुपमा नाराबाजी गरेका हुन् ।

कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उक्त सार्वजनिक भएको भिडियोमा आक्रोशित युवाहरुले ‘सर्प चोर देश छोड’ भन्दै नाराबाजी गरेको देखिन्छ ।

झलनाथ खनाल सहित नेकपा क्रान्तिकारी (माओवादी) सिपी गजुरेल र पूर्व गभर्नर डा.दिपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गर्ने सन्तोष राजाबादीसहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले जानकारी दिए ।